६ कट्ठा जग्गामा २८ दलित परिवार, भूमाफियाले बेचिदिए सिंगै बस्ती

६ कट्ठा जग्गामा २८ दलित परिवार, भूमाफियाले बेचिदिए सिंगै बस्ती

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सिरहाको मिर्चैया नगरपालिकामा दुई दलितबस्ती भूमाफियाले हडपेका छन् । मिर्चैया नगरपालिका–७ फूलबरियामा जम्मा ६ कट्ठा जग्गामा २८ घरधुरी दलित बस्छन् । उनीहरू यहाँ झन्डै ९० वर्षदेखि बसिरहेका छन् । तर गतवर्ष स्थानीय जनप्रतिनिधिको मिलेमतोमा उनीहरूको जग्गा अरूले खरिद–बिक्री गरिदिएका छन् ।

स्थानीय ६५ वर्षीय घुरन रामका अनुसार सिरहाको कल्याणपुर जब्दीका जग्गाधनी हजारी साहू भनिने रामचन्द्र साहलाई झन्डै ९० वर्ष पहिले नै जग्गाको रकम बुझाएर यहाँ बस्ती बसाइएको थियो । उतिवेला जमिनदारले अनेक बहाना बनाएर जग्गा पास गरिदिएनन् । अहिले दिवंगत हजारी साहूका नातिहरू श्रवणकुमार साह, दीपनारायण साह, सत्यनारायण साह, रामेश्वर साहलगायतले ९ मंसिर ०७५ मा धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरका जग्गा कारोबारी सुरेशकुमार महतोलाई दलितबस्ती रहेको ६ कट्ठा जमिन बिक्री गरेको स्थानीयले बताए । वडाध्यक्ष रामकुमार यादवले जग्गामा बस्ती तथा बाटोसमेत नरहेको सिफारिस दिएपछि जग्गा बिक्री भएको हो ।

सिंगै दलितबस्ती जग्गा दलालकहाँ बिक्री भएको सार्वजनिक भएपछि ६ पुस ०७५ मा प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव, मुख्य न्यायाधिवक्ता दीपेन्द्र झासहितको टोली दलितबस्तीमा पुगेको थियो । उनीहरूले कानुनी प्रक्रियामा गए दलितको मुद्दा निःशुल्क लडिदिने आश्वासन दिएका थिए । तर अहिले त्यो आश्वासन पूरा नभएको पीडितको गुनासो छ । त्यस्तै मिर्चैया–९ रम्पुरामा १५ घर दलितबस्तीले चर्चेको सात कट्ठा १० धुर जग्गा किर्ते कागज तयार गरी बिक्री भएको छ । दुईजना व्यक्तिमा नामासारी भइसकेपछि मात्रै बस्ती बेचिएको स्थानीयले थाहा पाए ।

बस्तीका मानिसले मिलेर करिब ५० वर्षअघि सिरहा नगरपालिका–७ घर भएकी रासो धुनियाइन मियाँसँग साबिक सिरहा फूलबरिया वडा नं. १ (ङ) कित्ता नं. १८ को सात कट्ठा १० धुर जग्गा किनेका थिए । त्यसपछि त्यहाँ बस्ती बसेको स्थानीय रामेश्वर महराले बताए । ‘हामीले जग्गाको पैसा उतिवेलै तिरेका थियौँ,’ महरा भन्छन्, ‘तर आमा रासो र छोरा मन्सुर मियाँको मृत्यु भएपछि जग्गा किर्ते गरेर बेचिएको थाहा पायौँ ।’ साबिक लगडीगोठ–८ का रामबहादुर यादवका छोरा भरत यादवले बस्ती रहेको जग्गा १० असोज ०७० मा मियाँको नामबाट आफ्नो नाममा ल्याएका रहेछन् । उनले १० असार ०७५ मा मालपोत कार्यालय सिरहाबाट गोलबजार नगरपालिका–८ चोहर्वा बस्ने आफ्ना फुपूको छोरा रामपरीक्षण यादवको नाममा दर्ता गरिदिएका छन् ।
नयाँ पत्रिकाबाट

Logo