२० हजार कर्मचारी समायोजनमा आउन अटेरी

२० हजार कर्मचारी समायोजनमा आउन अटेरी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

समायोजन गरिएका कर्मचारीमध्ये करिब एक चौथाइ कर्मचारी अटेरी देखिएका छन् । संघीय मामिला मन्त्रालयका अनुसार करिब २० हजार कर्मचारीहरूले अझै पनि समायोजनको चिठी नबुझी सरकारले खटाएको ठाउँमा जान अस्विकार गरेका छन् । अटेरी कर्मचारीहरू अहिले दिनहुँजसो सिंहदरबारमा भीड लाग्न जाने गरेका छन् ।

प्रशासन सेवाका करिब १२ हजार कर्मचारीले सरकारले खटाएको ठाउँमा जान अस्वीकार गरेका बेला स्वास्थ्य सेवाका अरु ८ हजार कर्मचारी पनि अ‍ेटरी देखिएका हुन् । सरकारले प्रशासन, स्वास्थ्य, प्राविधिक लगायतका सबै सेवाका कुल १ लाख ३१ हजार कर्मचारी समायोजन गरेको छ । त्यसमध्ये करिब ८० हजार कर्मचारीले समायोजनको चिठी बुझेका छन् । ती मध्ये करिब एकचौथाइ कर्मचारीको पदस्थापन पनि पूरा भएको मन्त्रालयले जनाएको छ।

संघीय मामिलामन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा कर्मचारी जानैपर्ने वाध्यता रहेको बताउँदै खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही हुने बताए । समायोजनको चिठी नबुझी मन्त्रालयमा गुनासो राख्ने कर्मचारीको गुनासो सुनुवाइ भइरहेको पनि उनले बताए । उनले भने, ‘मन्त्रालयमा गुनासो दिने कर्मचारीमध्ये अधिकांशले मनको वह मात्र पोख्ने गरेका छन् । त्यस्ता कर्मचारीलाई केही गर्न सकिन्न।’

अपांग, कडा रोग लागेका, साच्चै समस्यामा परेका कर्मचारीको गुनासो भने सुनुवाइ हुने पनि उनले बताए । गुनासो दिने कर्मचारीको गुनासो सुनुवाइ गर्न मन्त्रालयले नीतिगत निर्णय गरेको बताउँदै उनले भने, ‘गुनासो गर्ने कर्मचारीलाई सकेसम्म घर पायक मिलाउने र श्रीमान्–श्रीमतीलाई एकठाउँमा मिलाउने नीतिगत निर्णय भएको छ । त्यसभित्र नपर्ने कर्मचारीलाई सरकारले केही गर्न सक्दैन ।’
नागरिकबाट

Logo