काठमाडौं
नेपालको खानेपानी आयात गर्न कतारले चासो देखाएसँगै सरकारले खानेपानी प्रशोधन गर्न सकिने स्रोतको खोजी र निर्यातको सम्भावनाबारे अध्ययन थालेको छ । शुक्रबार खानेपानी मन्त्रालयले यस विषयमा सरोकारवालासँग छलफल गरेको छ । छलफलमा मन्त्रालयका सहसचिव तेजराज भट्टले खानेपानी निर्यातको सम्भावनाबारे प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रतिवेदनमा मन्त्रालयले नेपालको खानेपानी खाडी राष्ट्रसँगै छिमेकी देश भारत र बंगलादेशमा पनि निर्यात गर्न सकिने जनाएको छ । खाडी राष्ट्रमा खासगरी ग्लेसियस वाटर (हिमनदीको पानी) र भारत तथा बंगलादेशमा पानीको थोक वितरण गर्न सकिने सम्भावना देखाइएको छ । नेपालमा दैनिक कुल दुई सय २५ अर्ब क्युबिक मिटर पानी बग्छ । त्यसको १५ प्रतिशत मात्रै नेपालको कुल उपभोग क्षमता हो ।
बाँकी ८५ प्रतिशत पानी खेर गइरहेको छ । सहसचिव भट्टले भारत र बंगलादेशमा भने ठूला नदीका पानी पाइपबाट वितरण गर्न सकिने बताए । ‘थोक वितरण प्रणाली अनुसार नेपालमा ७० प्रतिशत उपयोग गर्ने र बाँकी ३० प्रतिशत भारत र बंगलादेशमा निर्यात गर्न सकिन्छ,’ उनले भने ।
मन्त्रालयले हिमनदीबाट पानी उत्पादन गर्न सकिने र थोक वितरण गर्न सकिने सम्भावित क्षेत्रको पहिचान गरेको छ । १५ वटा हिमनदी र कुण्डबाट पानी उत्पादन तथा प्रशोधन गर्न सकिने उसको भनाइ छ । सोलुखुम्बुको दुधकुण्ड वरीपरी, चौरीखर्कको क्यासाइ र इङ्खु हिमनदी, छेस्काम गाँउको मेरा हिमनदीबाट पानी उत्पादन गर्न सकिन्छ ।
चर्चा निर्यातको तर वार्षिक २ करोडको आयात
पानी निर्यात गर्न सकिने बहस प्रारम्भ हुँदा नेपालमा वार्षिक झण्डै २ करोड रूपैयाँको पानी आयात भइरहेको छ । भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष ०७४/७५ मा ३ लाख ८६ हजार लिटर मिनरल वाटर आयात भएको छ । यो १ करोड ८१ लाख रूपैयाँ मूल्य बराबरको हो ।
गतवर्ष नेपालले १५ लाख मूल्यमा आठ सय २३ लिटर पानी निर्यात गरेको छ । चालू आर्थिक वर्षको ६ महिनामा ७३ लाख ७२ हजार रूपैयाँको दुई लाख ७६ हजार लिटर पानी आयात भएको छ ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया