काठमाडौं
भ्रष्टाचार र अनियमिततामा बदनामी कमाएको मालपोत कार्यालयमा कर्मचारी आकर्षण घटेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाहीमा पर्न थालेपछि कर्मचारीले मालपोत रोज्न छाडेका हुन् । कर्मचारी घट्दै गएपछि मालपोत कार्यालयमा काम प्रभावित हुन थालेको छ ।
भ्रष्टाचारमा मुछिएका १३० जना कर्मचारी अख्तियारको कारबाहीपछि निलम्बनमा छन् । काठमाडौं उपत्यकाका डिल्लीबजार, कलंकी र चाबहिल मालपोतका धेरै कर्मचारी निलम्बनमा छन् । चाबहिलका प्रमुख मालपोत अधिकृत (उपसचिव) सहित १३ जना कर्मचारी निलम्बनमा छन् । अख्तियारले तीन मालपोत अधिकृतसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ । नमुनाका रूपमा विस्तार गर्न लागिएको कलंकीको अवस्था पनि त्यस्तै छ । देशभरका मालपोत कार्यालयमा कर्मचारीमाथि अख्तियारले निगरानी गरेको छ । अख्तियारको प्रतिवेदनमा सबैभन्दा धेरै भ्रष्टाचार हुने सम्भावित क्षेत्रमा मालपोतलाई इंगित गरेको छ ।
यस्तै १९६ जना कर्मचारी मालपोत छाडेका छन् । उनीहरू कर्मचारी समायोजनमा अन्यन्त्र गएका छन् । भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार कुल १९०८ दरबन्दी रहेको मालपोतमा ८८६ कर्मचारी रिक्त छन् । प्रमुख मालपोत अधिकृत (उपसचिव) को ५९ दरबन्दीमा ३५ जना रिक्त छन् । ७५ जना मालपोत अधिकृत रिक्त छन् जसको २४९ दरबन्दी हो । सेवा प्रवाहका लागि आवश्यक नायब सुब्बा र खरिदारको अवस्था पनि त्यस्तै छ ।
विभागका शाखा अधिकृत देवराज लुइटेलले नासु र खरिदार अभाव रहेको बताए । मालपोतमा ७९४ नासु दरबन्दीमध्ये ३२० जना रिक्त छन् । ४०४ जना खरिदार रिक्त छन् । खरिदारको दरबन्दी ८०६ हो । सातवटै प्रदेशमा रहेका मालपोत कार्यालय कर्मचारीविहीन बन्दै गएका छन् ।
प्रदेश १ मा ३३४ दरबन्दीमा ११४ कर्मचारी रिक्त छन् । प्रदेश १ बाट २८ कर्मचारी समायोजनपछि अन्य कार्यालयमा गएका छन् । प्रदेश २ मा ३७० दरबन्दीमा २१४ कर्मचारी रिक्त छन् । २२ जना समायोजनमा गएका छन् ।
प्रदेश ३ मा १५१ कर्मचारी रिक्त छन् । ४३१ दरबन्दीमा ५९ जना समयोजनमा गए । गण्डकी प्रदेशमा मालपोतमा कर्मचारी अभाव छ । १९१ दरबन्दीमा १०१ खाली छन् भने २७ जना समायोजनपछि हिँडेका छन् । प्रदेश ५ मा ३३४ दरबन्दीमा १६६ रिक्त छन् । ३३ जना समायोजनमा गएका छन् । कर्णाली प्रदेशको ९८ जनाको दरबन्दीमा ३९ जना खाली छ । ९ जना समायोजनमा गएका छन् । सुदूरपश्चिम प्रदेशमा १५० दरबन्दीमा ९१ जना कर्मचारी छैनन् । १८ जना सुगम रोजेर अन्यन्त्र गएका छन् ।
अन्नपूर्णबाट





























प्रतिक्रिया