काठमाडौं
उपत्यकाका प्रसिद्ध जात्रामध्ये भक्तपुरमा मनाइने बिस्केट जात्रा सकिएको छ । २७ चैतमा तौमढी दरबार क्षेत्रबाट तानिएको भैरव र भद्रकालीको रथ बिहीबार पुनः तानेर बजार परिक्रमा गरी भैरव नाथको मन्दिरभित्र राखेपछि जात्रा सकिएको हो ।
नयाँ वर्षको स्वागत गर्दै नौ दिनसम्म दर्जनौँ देवी देवताको पूजाआजा, भैरव र भद्रकालीको रथ तानेर बजार परिक्रमा, ५५ हात लामोे लिंगो उठाउने र ढाल्ने, सिन्दुर खेल्ने र जिब्रो छेड्ने लगायत जात्रासँगै भक्तपुरवासीले बिस्केट जात्रा मनाएका हुन् । जात्रा अवधिभर भक्तपुरवासीले विभिन्न देवीदेवताका मन्दिर र कूल पूजाको समेत पुजाआजा गर्ने गर्दछन् । मिठा र लोक संस्कृति झल्काउने परिकार तथा वेशभूषा, बाजागाजा र लोक गीत, भजन गाएर स्थानीयले बिस्केट जात्रा मनाए ।
जात्राको पहिलो दिन अर्थात् नयाँ वर्ष सुरु हुनु चार दिन अगाडि तान्त्रिक विधिपूर्वक काठै–काठले प्यागोडा शैलीमा निर्माण गरिएको तीन तले भैरवनाथको रथलाई बजार परिक्रमा गराइएको थियो । रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई राखी परम्परा अनुसार गहिटीबाट माथिल्लो र तल्लो भेगका बासिन्दाले रथ तान्ने गर्दछन् ।
नयाँ वर्षको दोश्रो दिन अर्थात् २ वैशाखमा मध्यपुरथिमि नगरपालिकाका विभिन्न टोलमा सिन्दुर जात्रा मनाइएको थियो । जात्रालुले एक आपसमा सिन्दुर खेलेका थिए । सोही दिन बोडेका बुद्धकृष्ण बाग श्रेष्ठले सातौँपटक जिब्रो छेडाएका थिए ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया