विप्लवको बन्दमा कहाँ के भयो ?

विप्लवको बन्दमा कहाँ के भयो ?

केन्द्रबिन्दु
0
Shares

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको समुहले आज नेपाल बन्दको आव्हान गरेको छ । यसको प्रभाव आंशिकरुपमा परेपनि देशका विभिन्न ठाउँमा बम र शंकास्पद वस्तु फेला परेका छन् । यसले सर्वसाधारण त्रसित बनेका छन् ।

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मकवानपुरका दुई ठाउँमा दुईवटा गाडीमा आगजनी गरेका छन् ।  भिमफेदी गाउँपालिका– ९ गोलमोडमा हेटौंडाबाट तरकारी लोड गरेर पालुङतर्फ जाँदै गरेको ना ४ ख ७९६० नम्बरको मिनि ट्रकलाई रोकेर पाँचजनाको समूहले पेट्रोल छर्किएर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता सागरविक्रम राणाले जानकारी दिए ।

यसैगरी थाहानगरपालिका वडा नम्बर ४ सिमभन्ज्याङमा पालुङबाट हेटौँडातर्फ आउँदै गरेको ना २ ख ९०९४ नम्बरको कुखुरा बोक्ने बोलेरो गाडीमा पनि पेट्रोल छर्किएर आगजनी गरेको उहाँले बताउनुभयो ।

हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर–८ कार्यालय अगाडि प्रेसर कुकर बम फेला परेको छ । वडा कार्यालयको गेटमै प्रेसर कुकरमा ‘बम’ लेखेर प्रेसर कुकर राखेको पाइएपछि सुरक्षाकर्मीले सो स्थान घेराबन्दी गरी निस्क्रिय बनाउने प्रयास गरेका छन् । विप्लव नेतृत्वको समूहले बन्द आह्वान गरेका कारण उक्त बम सोही समूहले राखेको हुन सक्ने प्रहरीको आशंका गरिएको छ ।

यस्तै हेटौंडा उपमहानगरपालिका–१९ तीनताप्केमा पनि शंकास्पद बस्तु फेला परेको जनाइएको छ । तारसहित प्रेसरकुकर फेला परेपछि सो क्षेत्रमा पनि सुरक्षाकर्मी पुगेर उक्त वस्तुको पहिचान तथा निस्क्रिय पार्ने प्रयास गरिरहेको जनाइएको छ ।

यता कैलालीको गोदावरी नगरपालिकामा बम फेला परेको छ । बम अत्तरिया बजारमा फेला पारिएको हो । बम फेलापरेपछि सेनाको डिस्पोजल टोली घटनास्थलतर्फ जाँदै गरेको स्थानीयले बताएका छन् ।

उता गण्डकी प्रदेशसभा भवन प्रवेश गेट आगाडी शंकास्पद बस्तु भेटिएको छ । प्रदेशसभा भवन प्रवेश गर्ने गेट अगाडी शंकास्पद बस्तु भेटिएको हो । बम हुन सक्ने भएकाले अहिले नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोजको तयारी गरेको छ ।

जिरोकिमी नजिकै पनि शंकास्पद बस्तु फेला परेको छ । कालो टेपले बेरेर राखेको अवस्थामा शंकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । विप्लव नेतृत्वको नेकपाले आयोजना गरेको नेपाल बन्दको प्रभाव रुपन्देहीमा पनि परेको छ । रुपन्देहीका विभिन्न तीन ठाउँमा बम बिस्फोट भएको हो । बिहीबार बिहान ३ बजेतिर सैनामैनामा ठूलो आवाजसहित बम बिस्फोट भएको स्थानीयले जानकारी दिएका छन् ।

मध्यपहाडी लोकमार्गमा पर्ने सिन्धुलीको गोलान्जर गाउँपालिका– १ शंकास्पद बस्तु फेला परेको छ । बिहिबार बिहान शंकास्पद बस्तु फेला परेपछि प्रहरी त्यसतर्फ गइरहेको बताइएको छ ।

यस्तै पाल्पामा सुतली बम पड्किएको छ । जिल्लाको रिब्दिकोट गाउँपालिका ३ खस्यौलीमा रहेको गाउँपालिका भवनमा बम पड्किएको हो । बमले गाउँपालिका भवनमा क्षति पुगेको छ । बम विप्लव समूहको नेकपाका कार्यकर्ताले पड्काएको हुनसक्ने अनुमान गरिएको छ । बम भेटिएको खबर सुनेपछि स्थानीय त्रसित बनेका छन् ।

Logo