नेपालको पहिलो स्याटेलाइट आज प्रक्षेपण गरिंदै

नेपालको पहिलो स्याटेलाइट आज प्रक्षेपण गरिंदै

केन्द्रबिन्दु
0
Shares

आज नेपालको पहिलो भूउपग्रह प्रक्षेपण गरिंदैछ। नेपाली समयअनुसार बिहीबार बिहान २ः३१ बजे अमेरिकाको भर्जिनियास्थित वल्लोप्स टापुमा रहेको नासाको प्रक्षेपण केन्द्रबाट नेपाली वान स्याट अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्र (आइएसएस)मा रकेटमार्फत पठाइँदैछ।

आइएसएसमा एक महिनाभन्दा बढी समय राखेपछि त्यो अन्तरिक्षमा छोडिनेछ। नेपालसँगै श्रीलंका र जापान भूउपग्रहरु पनि पठाउन लागिएको छ।

उक्त भूउपग्रह आभास मास्के र हरिराम श्रेष्ठले बनाएका हुन्।  श्रेष्ठ, इलेक्टिकल र कम्युनिकेशन इञ्जिनियरिङमा स्नातकोत्तर गरिरहेका छन् भने मास्के, स्पेस टेक्नोलोजी इञ्जिनियरिङमा विद्यावारिधी गरिरहेका छन् । उनीहरुले पहिलो पटक ‘नेपाली स्याट १’ भूउपग्रह बनाएका छन् ।

१० सेन्टिमिटर लम्बाइ, १० सेन्टिमिटर चौडाइ र १० सेन्टिमिटर उचाई रहेको यो भूउपग्रह १३ सय ३० ग्राम तौलको छ । ०७४ असोज २८ गते अर्थमन्त्रीस्तरीय निर्णयबाट क्यूटेकसँग सम्झौता भएपछि यो भूउपग्रह निर्माण शुरु भएको थियो । यो भूउपग्रह बनाउन एक करोड ५० लाख जापानी यान खर्च भएको छ ।

जापानस्थित इन्स्टिच्युट अफ टेक्नोलोजीको प्रयोगशालामा बनाइएको चन्द्र सूर्य अंकित यो भूउपग्रहको भाइब्रेसन र भ्याकुम परिक्षण सफल भएको छ । पृथ्वीभन्दा ४ सय किमीमाथि रहने यो भूउपग्रहले प्रत्येक डेढ घण्टामा एक पटक पृथ्वीको परिक्रमा गर्नेछ । यसले नेपालको आकाशमा दैनिक चार फन्को लगाउने बताइएको छ ।

यसैबीच नेपाल विज्ञान तथा प्राविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले ग्राउन्ड स्टेसन निर्माण प्रक्रिया शुरु गरेको छ। त्यसका लागि सामग्री खरिद गर्न चैत १९ मा २१ दिने बोलपत्र आह्वान गरी प्रक्रिया अघि बढाएको छ।

जापानले ग्राउन्ड स्टेसन निर्माणका लागि नाष्टका इन्जिनियर रोशन पाण्डेलाई तामिल दिइसकेको छ। उनी एक साता लामो तालिम लिएर माघमै नेपाल फर्केका हुन्।भूउपग्रहसँग सञ्चार गर्न सक्ने ग्राउण्ड स्टेसन निर्माणका लागि २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ।

Skip This
Skip This
Logo