कैलाली
धनगढी उपमहानगरपालिकाले कालोपत्रेमाथि ग्राभेलिङ गरेर विकासको उपहास गरेको छ । वडा नम्बर ३ विशालनगरमा कालोपत्रेमाथि ग्राभेलिङ गरिएको हो ।
सरोज मेडिकल हलदेखि दक्षिण नाट्यश्वरी भएर गणेश मन्दिर जाने कालोपत्रे सडकमाथि नै ग्राभेलिङ गरिएको छ । कालोपत्रेमाथि ग्राभेलिङ गर्दा स्थानीय आश्चर्यचकित परेका छन् । ‘यो कस्तो विकास हो,’ स्थानीय चन्द्रकान्त शर्माले भने, ‘कालोपत्रे सडकमाथि नै ग्राभेलिङ गरिने ?’ कालोपत्रे सडक होचो भएर बर्खामा पानी जम्ने भएकाले मर्मतसम्भार गरिदिन नगरपालिकालाई आग्रह गर्दा कालोपत्रे सडकमाथि नै ग्राभेलिङ गरिदिएको उनले बताए ।
सधैँजसो यही सडकममा विद्युतीय रिक्सा चलाउँदै आएका वीरबहादुर चौधरीले भने, ‘बाटो पक्की नै थियो, त्यसैमाथि ग्राभेलिङ गरिदिँदा रिक्सा चलाउनै मुस्किल भइरहेको छ ।’ उनले ग्राभेलिङ गर्नु नै पर्ने भए कालोपत्रे सडक भत्काएर गरिनुपर्ने बताए । ‘यदि सडक होचो भएर पानी जम्ने समस्या हो भने कालोपत्रे सडक भत्काएर त्यसैमाथि ग्राभेलिङ गरिनुपथ्र्यो,’ उनले भने, ‘यसरी कालोपत्रे सडकमाथि नै ग्राभेलिङ गरिँदा बर्खाको पानीले ग्राभेल बगाइदिने समस्या बल्झन्छ ।’
कालोपत्रे होचो भएर फुटेको र बर्खायाममा पानी जम्ने भएकाले त्यसैमाथि ग्राभेलिङ गरिएको वडा नम्बर ३ की वडा सदस्य पार्वती सिंहले बताइन् । उनले भनिन् , ‘स्थानीयले सडकमा पानी जम्ने भएकाले बर्खामा हिँडडुल गर्ने बाटो बनाइदिन भनेकाले हामीले ग्राभेलिङ गरिदिएका हौँ ।’ कालोपत्रे खोर्सेर ग्राभेलिङ गरिनुपर्ने नागरिकको प्रश्नमा उनले भनिन्, ‘कालोपत्रे फुटेको होचो ठाउँमा खोस्रनका लागि नगरपालिकाले डोजर उपलब्ध नगराउने भएकाले त्यसैमा ग्राभेलिङ गरिदिएका हौँ ।’ आफूले नगरपालिकालाई नाली बनाउनका लागि डोजर माग गर्दा पनि अहिलेसम्म नदिएकाले कालोपत्रे भएको ठाउँमा खोर्सनका लागि डोजर माग्न नसकिएको उनी बताउँछिन् ।
नागरिकबाट





























प्रतिक्रिया