काठमाडौं
प्रधानमन्त्री केपी ओलीले विपक्षीलाई ‘नन्दीभृंगी’ को संज्ञा दिँदै आन्दोलन नगर्न सुझाएका छन् । नयाँ वर्षको पहिलो दिन आइतबार ‘ज्येष्ठ नागरिक स्वास्थ्य बिमा तथा खोलौं बैंक खाता अभियान’ शुभारम्भ गर्दै प्रधानमन्त्रीले कसैले आन्दोलन भनेर सिट्टी फुक्दैमा जनता नकुद्ने दाबी पनि गरे ।
११ विद्यार्थी संगठनद्वारा शुक्रबार आयोजित कार्यक्रममा सरकारले हरेक क्षेत्रमा हस्तक्षेप गरेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले आन्दोलन आह्वान गरेका थिए । ‘अस्तिका दिन पनि १३ वटा विभिन्न आकार प्रकारका नन्दीभृंगी भेला भएछन् र आन्दोलन गर्छौं भनेछन् । म अरू केही भन्दिनँ, नगर्नुस् मात्र भन्छु,’ विपक्षी दलतर्फ लक्ष्य गर्दै ओलीले प्रश्न सोधे, ‘जसले आन्दोलन भनेर सिठी फुक्छ, त्यसैको पछि कुद्छन् नेपाली जनता ? के यो सम्भव छ ? ’
उनले स्थिरता, विकास र शान्तिका लागि जनताले मतदान गरेको भन्दै सोही अनुसार सरकार बनेको बताए । ‘सरकारले देशका निम्ति काम गरेको छ । वृद्धवृद्धाको छेउमा सरकार ढाल्ने कुरा नगर्नुहोला । ढुंगा हान्छन्, परपर भन्नुस् । केटाकेटीले सुन्ने गरेर पनि नभन्नुहोला ’, ओलीले चेतावनी दिँदै भने ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य बिमा बोर्ड, नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स एसोसिएसनले संयुक्त रूपमा यो अभियान सुरु गरेका हुन् । अभियान क्रममा सरकारले प्रिमियम तिर्ने गरी ज्येष्ठ नागरिकका लागि एक लाख रुपैयाँसम्मको स्वास्थ्य बिमासमेत घोषणा गरिएको छ ।
‘दुई झरी पानीले भिज्दा पनि केही नहुने बैंसका मान्छेलाई बिमाको त्यति आवश्यक नहोला तर लौरो टेकेर हिँड्नेलाई बिमा र बैंक अत्यावश्यक छ’, प्रधानमन्त्री ओलीले भने । उनले मानव अधिकारको नारा पिट्नेहरूले यस्ता काम नदेख्ने भन्दै मानवअधिकारवादीप्रति पनि कटाक्ष गरे ।
अन्नपूर्णबाट





























प्रतिक्रिया