काठमाडौं
चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा सरकारले वैदेशिक रोजगारको सिलसिलामा मृत्यु भएका कामदारकोे शव ढुवानी गर्न करिब १ करोड २१ लाख रुपैयाँ खर्चेको छ ।
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार ५ सय १९ मृतक कामदारको शव ढुवानी गर्न उक्त रकम खर्च भएको हो । साउनदेखि फागुनको दोस्रो सातासम्मको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मृतकको घरसम्म शव लैजाँदा उक्त रकम खर्च भएको बोर्डले जनाएको छ ।
यस अवधिमा वैदेशिक रोजगारमा गएका मृतक कामदार मध्ये ५ सय १० पुरुष र ९ महिला रहेका छन् । यो अवधिमा ज्यान जाने कामदारको संख्या भने ५ सय ५३ रहेको छ । विदेशमा कागजी प्रक्रिया पुगेको मृतक कामदारको शव १ हप्ताभित्र आइपुग्ने तर कागजात नपुगेको मृतक कामदारको शव आइपुग्न बढीमा एक महिना लाग्ने गरेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका सूचना अधिकारी दिनबन्धु सुवेदीले बताउनुभयो ।
अघिल्लो आर्थिक वर्ष २०७४/२०७५ मा वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भई नेपालको विमानस्थलसम्म आइपुगेका ६ सय ११ पुरुष र १४ जना महिला गरी ६ सय २५ कामदारको शव उनीहरुको घरसम्म पु¥याएको वैदेशिक रोजगार बोर्डको तथ्याङ्कले देखाएको छ । वैदेशिक रोजगार नियमावली, २०६४ अनुसार वैदेशिक रोजगारमा गएका मृतक कामदारको शव निज कामदारको नजिकको हकवालाले दिएको निवेदन अनुसारको घर ठेगानासम्म निःशुल्क पु¥याउन वैदेशिक रोजगार बोर्डले सहयोग गर्ने व्यवस्था रहेको छ ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया