निगमले चैतको किस्ता पनि बुझाउन नसक्ने

निगमले चैतको किस्ता पनि बुझाउन नसक्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले जहाज खरिद गर्दा लिएको ऋणको साँवा–ब्याजबापत बुझाउनु पर्ने चैतको किस्ता पनि तिर्न नसक्ने भएको छ । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट दुई न्यारो बडी र दुई वाइड बडी जहाज किन्दा लिएको ऋण ३७ अर्ब ५८ करोड रुपैयाँ छ ।

ऋणको साँवा–ब्याजको किस्ता १५ वर्षसम्म तीन–तीन महिनामा बुझाउने सर्त छ । निगमले दुई वाइड बडीको ८० करोड ४२ लाख र दुई न्यारो बडीको ३३ करोड नौ लाख रुपैयाँ गरी एक किस्तामा एक अर्ब १३ करोड रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

निगमले पुसको किस्ता पनि पूरै तिरेको छैन । निगमका सहप्रवक्ता नवराज कोइरालाका अनुसार एक अर्ब १३ करोडमध्ये करिब ४४ करोड रुपैयाँ पुसमा तिरेको थियो । यसैगरी चैतको किस्ता पनि निगमले पूरै नतिरेर जति आम्दानी भएको छ, त्यत्ति मात्रै तिर्ने तयारी गरेको छ ।

‘हाम्रो योजना त पूरै तिर्ने हो,’ सहप्रवक्ता कोइरालाले भने, ‘पूरै किस्ता तिर्न पुग्ने गरी आम्दानी नभएको हुन सक्छ ।’ उनका अनुसार पुगे पूरै, नपुगे जति पुग्छ, त्यत्ति तिर्ने योजना छ ।

निगमसँग रहेका अन्तर्राष्ट्रिय उडान भर्ने दुई न्यारो बडी, दुई वाइड बडी र एक बोइङ जहाज पूर्ण रुपमा सञ्चालन नहुँदा ऋणको किस्ता तिर्न नसकेको हो । पाँचवटा जहाजबाट निगमले दैनिक ७० घन्टा उडान गराउन सक्छ । तर ती जहाजलाई दैनिक ३४ घन्टा मात्रै उडाइरहेको छ । निगमले क्षमता अनुसार जहाज नउडाउँदा आम्दानी कम छ ।
नागरिकबाट

Logo