थपलियाविरुद्ध ६ उजुरी दर्ता

थपलियाविरुद्ध ६ उजुरी दर्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाविरुद्ध काठमाडौं–४ (१) बाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सांसद नरोत्तम वैद्यसहित ६ जनाको उजुरी परेको छ । सँगै प्रस्ताव गरिएकी समावेशी आयोगकी सदस्य विष्णुमाया ओझाविरुद्ध भने कुनै गुनासो तथा उजुरी परेको छैन ।

सांसद वैद्यले पार्टी निकट भनेर चिनिएका थपलियाको निर्वाचन आयोगमा हुने आगमनले आयोगले गराउने निर्वाचनको वैधतामा प्रश्नचिह्न लाग्ने बताउनु भएको छ ।

८ वटा असहमतिका बुँदालाई उहाँले बुधबार संसदीय सुनुवाइ समितिको सचिवालयमा दर्ता गर्नुभएको थियो । थपलिया र ओझाविरुद्ध शुक्रबार कार्यालय समयसम्म उजुरी दिने समय रहेको थियो ।

संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले संसदीय सुनुवाइ समितिको वैशाख ३ गते २ बजे बस्ने बैठकमा उजुरी खोलेर समिति सदस्यलाई वितरण गरिने बताउनुभयोे । संवैधानिक परिषद्द्वारा सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने समय वैशाख २ गते सोमबारसम्म छ । थपलिया र न्यायाधीशविरुद्ध परेका सबै उजुरीलाई एकैपटक खोलिने र अन्य प्रक्रियामा अघि बढ्ने अर्यालले बताउनुभयो ।

संवैधानिक परिषद्को चैत ११ गतेको बैठकले थपलिया र ओझाको नाम प्रस्ताव गरेको थियो । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको कार्यकाल चैत १० गते सकिएपछि उक्त पदमा थपलियालाई प्रस्ताव गरिएको हो ।
नेपाल समाचारपत्रबाट

Logo