काठमाडौं
गैरकानुनी कार्यमा संलग्न रहेका ९६ विदेशी नागरिकलाई सरकारले उनीहरुकै देश फिर्ता गरेको छ ।
अध्यागमन विभागका अनुसार चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा ९६ जनालाई देश फिर्ता गरिएको हो । अवैध कार्यमा संलग्न उनीहरु मध्ये अधिकांशको भिसा अवधि सकिएको थियो ।
गैरकानुनी रूपमा नेपालमा बसेर उनीहरू मध्ये अधिकांश विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहदै आएका थिए । ती मध्ये पनि धेरैजसो लागूऔषध ओसारपसार तथा सुन तस्करी जस्ता गतिविधिमा संलग्न रहेको विभागले जनाएको छ ।
विभागका निर्देशक रामचन्द्र तिवारीका अनुसार यसरी अवैध रूपमा नेपाल बस्नेमा चिनियाँ नागरिक सबैभन्दा बढी रहेका छन् । चिनियाँ नागरिकलाई नेपाल प्रवेशमा निःशुल्क भिसा उपलब्ध हुने गर्दछ । यद्यपि उनीहरू विभिन्न व्यापारिक तथा आपराधिक कार्यमा संलग्न रहने गरेको पाइएको विभागले जनाएको छ ।
विदेशी नागरिकलाई नेपाल प्रवेशको स्वीकृति दिने, भिसा अवधि थप गर्ने, निषेधित क्षेत्रमा प्रवेशको अनुमति दिने र नेपालीहरूको विदेश प्रस्थान र आगमनलाई व्यवस्थित गर्ने तथा अध्यागमनसम्बन्धी आपराधिक मुद्दाका व्यवस्थापन गर्नेजस्ता कार्य अध्यागमन विभागले गर्दै आएको छ । विभागका पोखरासहित देशका मुख्य १० नाका तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालयहरू छन् । यसरी विभिन्न नाका तथा हवाई मार्गमार्फत नेपाल प्रवेश गर्ने विदेशी नागरिकलाई नेपाल प्रवेश गर्ने क्रममा अध्यागमन कार्यालयमा सोझै भिसा दिने व्यवस्था पनि रहेको छ ।
राजधानीबाट





























प्रतिक्रिया