चिकित्सकहरुको आन्दोलनमा कारण ६ दिनदेखि बन्द रहेको वीर अस्पतालको टिकट काउन्टर आज प्रहरी लगाएर खोलेको छ । टिकट काउन्टर खुले पनि चिकित्सकहरु नहुँदा बिरामीले अस्पताल भित्र सेवा पाउन सकेका छैनन् । उपचार गर्न अस्पताल पुगेका बिरामीहरूको बिजोग भएको छ।
अस्पताल विकास समितिबाट २५ जना चिकित्सक छन्। आन्दोलनमा रहेका चिकित्सकहरूले उपचारका लागि आएका बिरामीहरूको समस्यालाई बुझेर अस्पतालको प्रांगणमा नै ओपिडी सेवा दिएका छन्।सरकारी चिकित्सक संघका अध्यक्ष डा दीपेन्द्र पाण्डेले बिरामीहरुलाई अप्ठेरो नपरोस् भनेर आफूहरूले बाहिरबाटै ओपिडी सेवा दिएको बताए।
गत शुक्रबारबाट कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै आएका सरकारी चिकित्सकहरुले देशैभरका सरकारी अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा ठप्प पारेका हुन् । काठमाडौंका वीर, ट्रमा सेन्टर, कान्ति बाल अस्पताल, शुक्रराजलगायतका अस्पतालमा शल्यक्रियाका लागि पालो कुरेर बसेका बिरामीले पनि सेवा पाउन सकेका छैन् । गोदानको आह्वानमा भएको उक्त आन्दोलनमा नेपाल चिकित्सक संघले समेत ऐक्यवद्धता जनाएको छ । चिकित्सकहरु भने आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताउँदै आएका छन् ।
सरकारी चिकित्सकहरू भने आफूहरूलाई संघअन्तर्गत राखेर समायोजन गर्नुपर्ने बताउँदै आएका छन्। पटकपटक सहमति गरेर आफूहरूलाई सरकारले धोका दिएको दाबी गर्दै आएका चिकित्सकले यसपालि आफूहरूको आन्दोलन वार कि पार पार्ने भन्दै आन्दोलनमा उत्रिएका छन्। यसपालि आफूहरूका माग पूरा नभए अन्तिम विकल्पमा सरकारसमक्ष राजीनामा बुझाउने चिकित्सक संघले यसअघि नै घोषणा गरिसकेको छ।
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले आकस्मिकबाहेकका सेवा ठप्प पारी आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकलाई संघीयता विरोधीको संज्ञा दिइसकेका छन्।





























प्रतिक्रिया