निजी विद्यालयको मनपरी, आर्थिक शोषणमा अभिभावक

निजी विद्यालयको मनपरी, आर्थिक शोषणमा अभिभावक

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नयाँ शैक्षिकसत्र सुरु हुनै लाग्दा काठमाडौंसहित देशभरका अधिकांश निजी विद्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा मनपरी रकम असुल्ने गरेका छन् । यसले अभिभावकहरू चरम आर्थिक शोषण परेका छन् । सरकारले प्रभावकारी अनुगमन गर्न नसक्दा निजी विद्यालयहरूमा यस्तो बेथिति देखिएको हो ।

देशभर झन्डै साढे ६ हजार निजी विद्यालय छन् । केही विद्यालयहरूले अभिभावकलाई उपलब्ध गराउनुपर्ने पाठ्यक्रम समेत लुकाएका छन् । नतिजा आएको दिन अभिभावकलाई तोकिएको पसलबाट किताब किन्न आग्रह गर्ने गरेका छन् । यस्तै विद्यालयका सञ्चालकहरूले किताब बिक्री भए बापत ती पसलबाट ४० प्रतिशतसम्म रकम लिने गरेको स्रोतको दाबी छ ।

हरेक विद्यालयले सरकारले तोके बमोजिम पाठ्यपुस्तक अध्यापन गराउनु पर्ने प्रावधान छ । तर अधिकांश निजी विद्यालयले मेरो नेपाली विषय बाहेक अन्य पुस्तक पाठ्यक्रम विकास केन्द्रले तोकेबमोजिम अध्यापन नगराएको पाइएको छ । ती विद्यालयहरूले सन्दर्भ सामग्री पढाउने गरेका छन् । पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रमलाई मूल आधार मानेर निजी विद्यालयले सन्दर्भ सामग्री अध्यापन गराउन पाइने बताएको छ ।

केन्द्रका महानिर्देशक डा लेखनाथ पौडेलले प्रकाशकहरूले स्वीकृति लिएर सन्दर्भ सामग्री तयार पारेको बताए । उनले भने, ‘केन्द्रबाट स्वीकृति लिनुपर्छ । स्वीकृति लिए नलिएको अनुगमन गर्ने जिम्मा नगरपालिका र गाउँपालिकाको हो । ’केही सन्दर्भ सामाग्रीमा सरकारी अधिकारीहरू सल्लाहकारका रूपमा बसेको पाइएको छ भने लेखन कार्यमा समेत ती अधिकारीको हात रहेको बुझिएको छ ।

अधिकांश विद्यालयले पाठ्यपुस्तकसहित त्यसको गातासमेत जबर्जस्ती किन्न लगाउने गरेको गुनासो अभिभावकको छ । उनीहरूले शैक्षिक सामग्री, लाइब्रेरी, ट्युसन फि, प्राथमिक उपचार, खेलकुद, छात्रवृत्ति कोष, कम्प्युटर लगायतका शीर्षकमा रकम असुल्ने गरेको देखिएको छ । केही निजी विद्यालयहरूले कक्षा उत्तीर्ण गर्दा पनि पुनः भर्ना शुल्क लिने गरेका पनि छन् ।
राजधानीबाट

Logo