काठमाडौं
बाराको फेटा गाउँपालिका–३ पुरैनियाटोलका २८ वर्षीय फैयाज आलमले चार लाख खर्चेर गत वर्ष मात्रै घर ठड्याएका थिए । ६ वर्ष कतारमा मजदुरी गरेको कमाइको उपलब्धि थियो, घर । तर, आइतबार मडारिएको हावाहुरीले क्षणभरमै उडाइदियो, घरमा रहेका खाद्य सामग्री, लत्ताकपडा र भाँडावर्तन सबै स्वाहा पारिदियो ।
आइतबार साँझको हावाहुरीको केन्द्र फेटाका फैयाज आलम पीडित प्रतिनिधि पात्र मात्रै हुन् । फेटा–६ स्थित राहत वितरण स्थलमा भेटिएका समाजसेवी ५५ वर्षीय नजिबुल्ला अन्सारीले फेटाका ३ र ६ नम्बर वडामा उनीहरूजस्ता बेघरबार बनेका पाँच सयभन्दा धेरै छन् । अधिकांश मुस्लिम समुदायका छन् । खेती गर्न उनीहरूको न जमिन छ न गरिखाने कुनै गतिलो पेसा । कतिपयको त बाउबाजेकै पालामा बनाइएको घर थियो । त्यही पनि हुरीले उडाइदियो ।
विनाशकारी हावाहुरीमा बारा र पर्साका दुई हजार घरपरिवार प्रभावित भएको गृह मन्त्रालयले जनाएको छ । गृहको तथ्यांक अनुसार एक हजार घर भत्किएका छन् भने एक हजारमा आंशिक असर परेको छ ।
‘बारामा एक हजार नौ सय घरमा हावाहुरीको असर परेको तथ्यांक छ । पर्सामा करिब ६० घरमा क्षति पुगेको छ,’ राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालले भने, ‘धेरै गरिब नै पीडित बनेका छन् । उनीहरूका कमजोर घर र टहरा उडाएको छ । धनीहरूका पक्की घर भएकाले असर कम छ ।’
आइतबारको हावाहुरीमा मृत्यु हुनेको संख्या २८ पुगेको छ । उपचारका क्रममा फेटा गाउँपालिका–६ का खयाग आलमको मंगलबार मृत्यु भएको हो । सोमबारसम्म २७ को मृत्यु भएको थियो ।
गृह मन्त्रालयका अनुसार अझै २ सय ४५ जनाको उपचार भइरहेको छ । २ सय ३३ को पर्सा, ३ को बारा र ९ को काठमाडौंमा उपचार भइरहेको छ । हावाहुरीमा करिब सात सय घाइते भएका थिए ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया