विप्लव समूहका १७ जना धरौटीमा रिहा

विप्लव समूहका १७ जना धरौटीमा रिहा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

राज्यविरुद्धको अभियोगमा मुद्दा चलाइएका माओवादी नेता नेत्र विक्रम चन्द विप्लव समूहका जिल्ला कमिटी सदस्य रञ्जीतसिंह ठकुरीसहित १७ जनालाई सिन्धुपाल्चोक जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश गरेको छ ।

जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलाशले बाह्रबिसे नगरपालिका निवासी इन्द्रबहादुर ठकुरीलाई २५ हजार तथा अन्य १३ लाई जनही छ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश गरेको हो । थुनामा रहेका रविता अधिकारी, हीरा खत्री र सविता श्रेष्ठलाई भने साधारण तारेखमा छाड्ने आदेश भएको स्रेस्तेदार लेखनाथ पौडेलले जानकारी दिए ।

उनीहरुलाई गत फागुन १८ गते चौतारा साँगाचोकगढी नगरपालिका–१० कार्कीटारस्थित एक व्यक्तिको घरमा सुतिरहेको अवस्थामा बिहान २ बजे प्रहरीले छापामारी नियन्त्रणमा लिएको थियो ।

विभिन्न जिल्लाका चार महिलासहित १७ जनालाई राज्यविरुद्धको अपराधको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो । पक्राउ परेकाहरूबाट सैन्य तालिम गराउने कागजात, चन्दा सङ्कलन गर्ने लेटरप्याड, राज्यविरुद्धको पर्चा र पम्ल्पेट लगायत सामग्री बरामद भएको प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले बताए ।
रासस

Logo