काठमाडौं । १ लाख ३१ हजार कर्मचारीको समायोजना सकिएको छ । संघीयता कार्यान्वयनमा महत्वपूर्ण मानिएको कर्मचारी समायोजन पुर्ण रुपमा सकिएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तीनै तहमा गरी एक लाख ३१ हजार कर्मचारी समायोजन गरिएको जनाएको छ । मन्त्रालयले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै सहसचिव केदार प्रसाद पनेरुले तीन तहमा १ लाख ३७ हजार ६ सय १४ कर्मचारी दरबन्दी स्वीकृत गरिएको जानकारी दिए ।
कर्मचारी समायोजन गर्दा संघमा ३५, सात प्रदेशमा १६ र स्थानीय तहमा ४९ प्रतिशतका दरले समायोजन गरेको सहसचिव पनेरुले बताए । संघमा ४८ हजार ४ सय ९, सात प्रदेशमा २२ हजार २ सय ९७ र स्थानीय तहमा ६६ हजार ९ सय ८ कर्मचारी खटिने छन् ।
पत्रकार सम्मेलनमा मन्त्री लालबाबु पण्डितले आफूले मन्त्रालय सम्हालेको एक वर्ष १२ दिनमा समायोजनको काम सकेको जानकारी दिए । तीन तहैको संगठन संरचना तयार गरेर, कर्मचारीलाई अस्थायी रुपमा खटाएर, कामलाई सकेसम्म अवरोध हुन नदिइकन संविधानले दिइएको अधिकार अनुसार नयाँ ऐन बनाइ कर्मचारी समायोजनको काम आज सम्पन्न भएको मन्त्री पण्डितको भनाई छ ।
सरकार गठन भएको एक वर्षभित्रै समोजन गरिसक्ने लक्ष्य भए पनि अनलाइन फारम भर्दा कतिपय कर्मचारीले पूरा विवरण नभरेको र भरेको तथ्यांक पनि गलत पाइएकाले काम सक्न ढिलाइ भएको उनको भनाई छ ।
कतिपय देशले कर्मचारी समायोजन गर्न नसकिरहेको बेला नेपालले छोटो समयमा काम सकेको भन्दै उनले यसलाई ठूलो उपलब्धीको रुपमा ब्याख्या गरे । उनले कर्मचारीहरुको समायोजनको क्रममा आएका गुनासालाई यसै महिनाभित्र सम्बोधन गरिसक्ने बताए ।





























प्रतिक्रिया