काठमाडौंँ
गृह मन्त्रालयले लगानी सम्मेलन (नेपाल इन्भेस्टमेन्ट समिट (२०१९) सुरक्षामा करिब ६ हजार सुरक्षाकर्मी तैनाथ गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपिएफ) र राष्ट्रिय अनुसन्धान विभागबाट ६ हजार भन्दा बढी जनशक्ति तैनाथ गरिएको गृह मन्त्रालयले जनाएको छ ।
चैत १५ गते सुरु हुने दुईदिने लगानी सम्मेलनमा ३१ मुलुकका ६ सय ९ जना विशिष्ट अधिकारी तथा उद्योगपति आउने तय भएको छ । सम्मेलन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।
प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीका अनुसार सम्मेलनमा नेपाल प्रहरीबाट ४ हजार २ सय जनशक्ति परिचालन गरिएको छ । प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमार्फत जनशक्ति तैनाथ गरेको हो ।
यसैगरी सशस्त्र प्रहरी मुख्यालयले उपत्यका बाहिनीमार्फत एसएसपीको कमान्डमा सम्मेलन सुरक्षार्थ जनशक्ति खटाएको छ । सशस्त्र प्रहरी प्रवक्ता डिआइजी सुरज श्रेष्ठले एसएसपी कालीदास धौवजीको नेतृत्वमा एक हजार ८ सय जनशक्ति सम्मेलन सुरक्षामा खटाइएको जानकारी दिए । राष्ट्रिय अनुसन्धान विभागले २ सय भन्दा बढी जनशक्ति तैनाथ गरेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समिति बैठकले सम्मेलन अवधिभर पाहुनाको सुरक्षामा कुनै पनि कमी हुन नदिन उपत्यकास्थित सुरक्षा निकायका अधिकारीहरुलाई निर्देशन दिएको छ । गृह मन्त्रालयका अनुसार सम्मेलन सुरक्षाकै लागि रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालय र सम्मेलनस्थल सोल्टी होटलमा ‘सम्मेलन सुरक्षा समन्वय कक्ष’ स्थापना गरिएको छ ।
सम्मेलन स्थल लगायत केही ठाउँमा संयुक्त सुरक्षा फौज परिचालन गरिएको छ । बाँकी स्थानमा आपसी समन्वयका आधारमा प्रहरी, सशस्त्र र अनुसन्धान विभागबाट जनशक्ति परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ । सरकारले सम्मेलनमा आउने पाहुनाका लागि सोल्टीसहित कुपन्डोलको हिमालय, गौशालाको द्वारिकाज, बौद्धको हायात, दरबारमार्गस्थित अन्नपूर्ण लगायतका होटलमा व्यवस्थापन गरेको छ ।
नागरिकबाट





























प्रतिक्रिया