सुमार्गीको पैसा रोक्का प्रकरण : भुक्तानी दिएको रकम फर्काउन सकिँदैन

सुमार्गीको पैसा रोक्का प्रकरण : भुक्तानी दिएको रकम फर्काउन सकिँदैन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

बैंकहरुले व्यवसायी अजयराज सुमार्गीले नेपाल इन्भेस्टमेन्ट बैंकबाट स्थानान्तरण गरेको पैसा फर्काउन व्यवहारिक समस्या भएको पत्र नेपाल राष्ट्र बैंकलाई पठाएका छन् ।

राष्ट्र बैंकले सुमार्गीको बैंक खातामा रहेको रकम पूर्ववत अवस्थामा ल्याउन बारम्बार निर्देशन दिएपछि बैंकहरुले रकम फिर्ता ल्याउन व्यवहारिक समस्या भएको जानकारीसहितको पत्र पठाएका हुन् । सुमार्गीले स्थानान्तरण गरेको रकम ऋण तिर्न, कर्मचारीलाई तलब भुक्तानी र राजस्व भुक्तानीमा प्रयोग गरेकाले अब फेरि त्यस्तो रकम फिर्ता गर्न सम्भव नभएको बैंकहरुको भनाइ छ ।

राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बैंकहरुले ऋण तिर्न प्रयोग भएको पैसा फेरि खातामा ल्याउन सकिने सम्भावना नभएको जानकारी गराएको बताए । ‘बैंकहरुले खातामा पैसा ल्याउन व्यवहारिक समस्या देखाएका छन्,’ उनले भने, ‘खातामा रकम ल्याउन कठिनाइ भएको पत्रमा उल्लेख छ ।’ राष्ट्र बैंकले मंगलबार पनि बैंकहरुलाई सुमार्गीको खातामा रकम ल्याउन निर्देशन दिएको प्रवक्ता पौडेलले जानकारी दिए ।

‘रोक्का राखेको धन सम्पत्ति फुकाउन जति सजिलो हुन्छ त्यो भन्दा बढी कठिनाइ गइसकेको रकम फिर्ता ल्याउन हुन्छ,’ उनले भने, ‘बैंकहरुलाई पनि त्यही समस्या छ । तर पनि उनीहरुलाई बारम्बार निर्देशन दिएका छौं ।’ ७८ करोड रुपैयाँमध्ये २३ करोड सुमार्गीले इन्भेस्टमेन्ट बैंकबाट लिएको ऋण तिर्न प्रयोग गरेका थिए भने बाँकी ५५ करोड रुपैयाँ अन्य तीन बैंक (२५ करोड नेपाल बंगलादेश बैंक, १० करोड महालक्ष्मी विकास बैंक र २० करोड प्राइम) मा स्थानान्तरण गरेका थिए ।
नागरिकबाट

Logo