काठमाडौं
गृह मन्त्रालयको बहालवाला सहसचिव बताउँदै साढे पाँच करोड रुपैयाँ ठगी गर्ने रौतहट गौर–१ का ५७ वर्षीय सत्येन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई तारकेश्वर नगरपालिका पाँचपानेस्थित एक रिसोर्टबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनले क्यानाडा लैजाने भन्दै ७० जना भन्दा धेरै युवासँग रकम असुलेका थिए । परिसरमा ६ जनाले जाहेरी दिएपछि यादवलाई पक्राउ गरिएको प्रवक्ता डिएसपी होवीन्द्र बोगटीले बताए । बोगटीका अनुसार यादवले ६ जनाबाट मात्रै एक करोड ८४ लाख रुपैयाँ असुल गरेका थिए ।
बोगटीले भने, ‘क्यानाडा लैजाने भन्दै थुप्रै युवासँग रकम असुलेको देखियो । प्रतिव्यक्ति पाँच लाख देखि १५ लाख रुपैयाँसम्म असुल गरेको जाहेरी परेको छ । सोही जाहेरीपछि उनलाई पक्राउ गरिएको हो । पीडितको बयान अनुसार यादवले साँढे पाँच करोड रुपैयाँ ठगी गरेका छन् ।’
को हुन् सत्येन्द्र यादव ?
प्रहरीका अनुसार सत्येन्द्र यादव उर्फ वीरेन्द्र अधिकारी वीर अस्पतालको सातौँ तहका डार्करुम टेक्निसियन हुन् । १७ लाख ६८ हजार ८ सय एक रुपैयाँ मूल्यबराबरको एक्सरेप्लेट खरिदमा हिनामिना गरेको प्रमाणित भएपछि काठमाडौं जिल्ला अदालतले उनलाई ८१ लाख ८४ हजार ८ सय एक रुपैयाँ जरिवानासहित चार वर्ष कैद सजाय सुनाएको थियो । लगत्तै फरार भएका उनी परिचय बदलेर वीरेन्द्र अधिकारी बनेका थिए । उनले अधिकारीकै आवरणबाट ठगी धन्दा चलाएको प्रहरीको भनाइ छ ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया