मनगणन्ते उजुरीले सकस : ३ प्रतिशतमा मात्रै विस्तृत छानबिन

मनगणन्ते उजुरीले सकस : ३ प्रतिशतमा मात्रै विस्तृत छानबिन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मासहित ६५ जनाविरुद्ध छानबिन गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७४ माघ १५ गते विशेष अदालतमा मुद्दा दायर गर्दा चार जना मात्रै विपक्षी बनायो ।

एक वर्ष लामो अनुसन्धानपछि आयोगले महानिर्देशक शर्मा, उनकी पत्नी कल्पना शर्मा उप्रेती, आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत टीकाराम भुसाल र उनकी पत्नी मुनादेवी घिमिरेलाई विपक्षी बनाएर अदालतमा मुद्दा दायर गर्‍यो । बाँकी ६१ जनालाई उन्मुक्ति दिइयो । तथ्यांक विश्लेषण गर्दा परेका कुल उजुरीमध्ये विस्तृत छानबिनपछि ६ प्रतिशतमा मात्रै अदालतमा मुद्दा दायर गरिएको देखिन्छ । अनुसन्धानको दायरामा राखिएका व्यक्तिमध्ये करिब ९४ प्रतिशतले कसुरबाट उन्मुक्ति पाउनुले अख्तियारमा अस्वभाविक उजुरीको चाङ कस्तो छ भन्ने देखाउँछ ।

आर्थिक वर्ष २०७४/७५ मा अख्तियारमा १९ हजार ४ सय ८८ उजुरी दर्ता भएकोमा ५ सय ४६ उजुरीमात्रै विस्तृत अनुसन्धानमा पठाइएको छ । उजुरीका आधारमा विस्तृत अनुसन्धानमा पठाइएको संख्या करिब तीन प्रतिशत मात्रै हो । आन्तरिक राजस्व विभागका महानिर्देशक शर्मासहितविरुद्ध परेको उजुरीमा छानबिन गर्दा प्रमाण नभेटिएपछि नै चार जनामाथि मुद्दा चलाएर बाँकीको उजुरी तामेलीमा राखिएको मुद्दामा अख्तियारका प्रवक्ता सहसचिव प्रदीपकुमार कोइरालाले बताए ।

‘आन्तरिक राजस्व विभागका महानिर्देशकसहित ६५ जनामाथि एकैपटक अकुत सम्पत्तिमा छानबिन गरेका थियौं तर तथ्य र प्रमाणका आधारमा चार जनाविरुद्ध मुद्दा दायर गरेर बाँकी करिब ५ दर्जनको उजुरी तामेलीमा राखियो,’ प्रवक्ता कोइरालाले भने, ‘यसमा कुनै बदनियत वा अस्वाभाविक तामेली भयो भन्न मिल्दैन ।’
नागरिकबाट

Logo