विप्लवका नेता ओलीसहित ९ जनालाई राज्यविरुद्धको अपराध मुद्दा

विप्लवका नेता ओलीसहित ९ जनालाई राज्यविरुद्धको अपराध मुद्दा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । काभ्रेबाट पक्राउ परेका नेत्र विक्रम चन्द विप्लव नेतृत्वका नौ नेताविरुद्ध राज्यविरुद्धको अपराधसहित चार मुद्दा लगाईएको छ । शुक्रबार राति काभ्रेबाट पक्राउ परेको विप्लव समूहका तेस्रो नम्बरका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’सहित नौ नेतालाई राज्यविरुद्धको अपराधसहित चार मुद्दा लगाईएको हो । उनीहरुलाई आईतबार ललितपुर जिल्ला अदालतले आठ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

उनीहरुविरुद्ध प्रहरीले हातहतियार तथा खरखजना, विस्फोटक पदार्थ, राज्यविरुद्धको अपराध र संगठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ । ओलीसँगै शंकर अधिकारी, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित लामा, सन्जीव कार्की, वेद घिमिरे र लोकेन्द्र खड्का पक्राउ गरेका थिए ।

विप्लवले पार्टीभित्र धेरै विश्वास गर्ने नेतामा ओली पर्छन्। उनकै योजनामा फागुन १० गते ललितपुरको नख्खुमा रहेको एनसेल टावर अगाडि बम विस्फोट भएको प्रहरीको निष्कर्ष छ। विस्फोटमा एकजनाको मृत्यु भएको थियो।

दोस्रो नम्बरका मानिएका प्रकाण्डलाई भन्दा विप्लवले स्थायी समिति सदस्य ओलीलाई विश्वास बढी गर्छन्। ओलीले नख्खु बम विस्फोटको जिम्मेवारी लिएका थिए। सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएसँगै प्रहरीले उनका नेतालाई गाउँगाउँ पुगेर प्रकाउ गरिरहेको छ।

विप्लवका विश्वासपात्र मानिने ‘प्रकाण्ड’लाई नेकपाले प्रवक्ताबाट निलम्बन गरेको छ । ४९ दिनपछि सर्वोच्चको आदेशमा रिहा भएका प्रकाण्डका गतिविधि शंकास्पद देखिएको भन्दै निलम्बन गरेको हो ।

पछिल्लो समय विप्लव, हेमन्तप्रकाश वली लगायतका नेताले विभिन्न घटनाको जिम्मेवारी लिँदै विज्ञप्ति निकाल्दै आएका थिए । प्रकाण्डलाई पार्टी स्थायी समिति बैठकले कुनै विज्ञप्ति जारी नगर्न, पार्टीको धारणा सञ्चारमाध्यममा सार्वजनिक नगर्न निर्देशन दिएको हो ।

Logo