काठमाडौं ।
विजयबाबु स्मृति पत्रकारिता पुरस्कार २०७७ स्व. पत्रकार गोकर्ण गौतमलाई मरणोपरान्त प्रदान गरिएको छ । न्युज कारोबार डट कमको चौथो वार्षिकोत्सवको अवसरमा बुधबार नेपाल समाचार केन्द्र प्रालि.का अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्रीले दिवंगत पत्रकार गौतमकी धर्मपत्नी सिर्जना तुलाधर गौतमलाई पुरस्कार हस्तान्तरण गरेकी हुन् ।
पुरस्कार हस्तान्तरण गर्दै अध्यक्ष श्रेष्ठले युवा पत्रकार गौतमको निधनले नेपाली पत्रकारिता क्षेत्रले अपुरणीय क्षति व्यहोरेको बताइन् । सत्य, तथ्य र निष्पक्ष पत्रकारिताको यात्रामा अघि बढ्दै गर्दा असामयिक निधन भएका पत्रकार गोकर्ण गौतम नेपाली प्रेस जगतमा अविष्मरणीय रहनेछन्, उनले भनिन्, उनको स्वच्छ पत्रकारिता सम्पूर्ण नेपाली पत्रकारका लागि अनुकरणीय रहनेछ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको संयोजकत्वमा गठित छनोट समितिले मंसिर १२ गते स्व. पत्रकार गौतमलाई दोस्रो विजयबाबु खत्री स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो । समितिमा प्रेस काउन्सिल सदस्य संगीता खड्का र नेपाल समाचार केन्द्रद्वारा प्रकाशित अनलाइन पत्रिका न्युज कारोबारका सम्पादक डीआर आचार्य सदस्य थिए । २०७५ मंसिर १२ गते अक्षय कोष स्थापना गरी घोषणा गरिएको पुरस्कारको राशि ३४ हजार रुपैयाँ छ ।
मकवानपुरको छतिवन घर भएका पत्रकार गौतमको ३१ वर्षको उमेरमा मंसिर ४ गते निधन भएको हो । मस्तिष्कको नसामा समस्या देखिएपछि शल्यक्रियाका क्रममा उनको निधन भएको थियो । देशान्तरबाट पत्रकारिता करिअर सुरु गरेका गौतम २०७० सालदेखि पाँच वर्ष कान्तिपुर पब्लिकेसन्सद्वारा प्रकाशित नेपाल म्यागेजिनमा र त्यसयता कान्तिपुर दैनिकमा आबद्ध थिए । विजयबाबु स्मृति पत्रकारिता पुरस्कार २०७६ वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीलाई प्रदान गरिएको थियो ।





























प्रतिक्रिया