काठमाडौं
सरकारले अर्को साता काठमाडौंमा आयोजना गर्ने ‘नेपाल लगानी सम्मेलन–२०७५’ का लागि झन्डै ३७ खर्ब रुपैयाँ बराबर लगानीका परियोजना तयार गरेको छ ।
लगानी बोर्ड नेपाल (आइबिएन) ले विभिन्न सात क्षेत्रका सम्भावित ५० परियोजना छनोट गरेको हो । प्रस्तावित ती परियोजनामा विदेशी तथा स्वदेशी लगानी खोजिने बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए । बोर्डले खासगरी ठूला र रणनीति महत्वका पूर्वाधारमा लगानीका लागि आह्वान गर्नेछ । तयार पारिएका ५० परियोजनाको कुल लागत ३३ अर्ब ६४ करोड ६० लाख अमेरिकी डलर छ । शुक्रबारको विनिमयदर अनुसार कुल लागत ३७ खर्ब २ अर्ब रुपैयाँ हुन आउँछ ।
सम्मेलनको अन्तिम दिन लगानीकर्तासँग परियोजना सम्बन्धी ‘डिल’ गर्ने तयारीसमेत गरिएको लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए । लगानीकर्तासँग केही परियोजनामा लगानी सम्बन्धी सम्झौतासमेत गरिने बताए । ‘सम्मेलनमा केही परियोजनामा आशय आउने निश्चित भइसकेका छन्, केहीमा सम्झौतासमेत हुन सक्नेछ,’ उनले भने ।
दुई वर्ष अघि आयोजित लगानी सम्मेलनमा विभिन्न १६ क्षेत्रमा १४ खर्ब ४७ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता आएको थियो । ‘नेपाल इन्भेस्टमेन्ट समिट २०१७’मा सहभागी लगानीकर्ताले जलविद्युत , कृषि, विमानस्थल लगायत क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता देखाएका थिए ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया