प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तेस्रो क्रमका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’सहित ९ जनालाई पक्राउ गर्यो।पक्राउ पर्नेहरुमध्ये एक हुन् शंकर अधिकारी। जो खानेपानी तथा ढल व्यवस्थापन मन्त्री बिना मगरका पूर्वपति हुन् ।
तत्कालीन एकीकृत नेकपा माओवादी फुट्दा मोहन वैद्य र विप्लवसँगै शंकर अधिकारी पनि नेकपा माओवादीबाट नेकपा – माओवादीमा गएका थिए। पछि नेकपा-माओवादी पनि टुक्रियो र विप्लवले नेपाल कम्युनिस्ट पार्टी गठन गरे। अधिकारी पनि विप्लवसँग गए ।
उनी २०५४ सालदेखि तत्कालिन माओवादीमा होल टाइमरका रुपमा सक्रिय थिए। सोही क्रममा उनले झन्डै ८ बर्ष जेल जिबन पनि बिताएका थिए।
एक पत्रिकासंग कुरा गर्दै उनले बिनासँग ख्यालख्यालमै प्रेम बसेको र एक वर्ष प्रेमपछि बिबाह गरेको बताएका थिए। मन्त्री मगर र अधिकारीबीच ०६६ सालको भदौमा प्रेम विवाह भएको थियो । उनले आफ्नो राजनीतिक यात्रामा पत्नीको ठूलो साथ् र सहयोग रहेको बताउदै आएका थिए।
पछि मगरले २०६९ सालमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालसँग प्रेम विवाह गरेकी थिइन् । अहिले मगर मन्त्री छिन् भने उनीसहितको क्याबिनेटले गरेको निर्णय अनुसार पूर्वपति अधिकारी पक्राउ परेका छन्।
प्रहरीले शुक्रबार काभ्रेको खानीखोला–७ बाट बा१७च ४८९३ नम्बरको स्कारपियोमा सवार नेता ओलीसहित ९ जनालाई पक्राउ गरेको थियो । ओली र अधिकारीसहित धर्मराज राजबहाक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित तामाङ, देव घिमिरे, सञ्जिव कार्की र लोकेन्द्र खड्का पनि पक्राउ परेका थिए ।





























प्रतिक्रिया