विप्लव खोज्दै नेपाली सेना कालिकोटका गाउँ गाउँमा

विप्लव खोज्दै नेपाली सेना कालिकोटका गाउँ गाउँमा


कालिकोट

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता कार्यकर्ता खोज्न नेपाली सेना गाउँ पसेको छ ।

रणसुर गुल्मपतिका सेनानी अमृत थापामगरको नेतृत्वको टोली विप्लवको गतिविधिमा रोक लगाउन र कार्यकर्तालाई नियन्त्रणमा लिन गस्तीमा हिँडेको हो । गस्तीमा नेपाल प्रहरी र सशस्त्र बल पनि मिसिएको छ ।

कालिकोट विप्लव नेतृत्वको नेकपाको पकड क्षेत्र मानिन्छ । नेकपाले विभिन्न गतिविधि बढाएपछि सुरक्षा निकाय संयुक्त रूपमा गाउँ केन्द्रित भएको हो ।

गुल्मपति थापामगरले जिल्लाबाट मंगलबार गाउँ हिँडेको सुरक्षा निकायको टोली सान्नित्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका हुँदै नरहरिनाथ गाउँपालिका जाने तयारीमा रहेको बताए । उनले भने, ‘तीनवटै सुरक्षा निकायको गस्तीसहित कुमालगाउँमा बुधबार नरहरिनाथ गाउँपालिकाको केन्द्र कुमालगाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी छ ।’

सरकारको निर्देशनमा जिल्लाका सुरक्षा निकाय गाउँ केन्द्रित भएपछि गाउँले त्रसित भएका छन् । २०५२ सालको सशस्त्र द्वन्द्वबाट निकै प्रभावित स्थानीय नागरिक फेरि द्वन्द्व निम्तिने त्रासमा छन् ।

जिल्लाका सुरक्षा निकायले नेकपाका महासचिव विप्लव र पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा कालिकोट आएको आशंकामा गस्ती अभियान तीव्र बनाएको हो ।
अन्नपूर्णबाट

Logo