मन्त्रिमण्डल पुनःगठन हुनुपर्छ : नेता नेपाल

मन्त्रिमण्डल पुनःगठन हुनुपर्छ : नेता नेपाल


काठमाडौँ

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले केन्द्र र प्रदेशका सरकार गठन भएको एक वर्ष पूरा भएकाले यसबीचका कामको समीक्षा गरेर मन्त्रिमण्डलमा हेरफेर गर्नुपर्ने बताउनु भएको छ ।

क्याक्स्टन मिडिया प्रालिले सञ्चालनमा ल्याएको ‘पब्लिक न्यूज एजेन्सी’ को शुभारम्भ कार्यक्रमपछि सञ्चारकर्मीको जिज्ञाशामा नेता नेपालले भन्नुभयो, “यसबीचको कामको मूल्याङ्कन गर्ने समय आएको छ ।

एक वर्ष बितेकाले अब मन्त्रिमण्डलमा पुनःगठन हुनु उपयुक्त छ । प्रदेशका हकमा पनि यो कुरा लागू हुन्छ तर यसबारे मलाई अरु जानकारी छैन ।” केन्द्र सरकार र प्रदेश नं. २ मा बाहेक छ वटा प्रदेशमा नेकपाले नेतृत्व गरिरहेको छ ।

नेता नेपालले पार्टी एकताको काम तल्लो तहसम्म पुग्न नसक्नुले कार्यकर्तामा निराशा पैदा भएको उल्लेख गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्केपछि एकताले पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले पार्टीमा विधि र प्रणालीसहित छलफलको परम्पराले निरन्तरता पाउनु पर्नेमा पनि जोड दिनुभयो ।

अर्को प्रसङ्गमा नेता नेपालले विखण्डनको कुरा गर्ने सिके राउत नेतृत्वको गठबन्धनलाई मूलधारमा ल्याउने सरकारको सोच सही भए पनि त्यसमा विश्वस्त हुने वातावरण सम्बन्धित पक्षले गराउनुपर्ने बताउनुभयो । उहाँले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका गतिविधिलाई प्रतिबन्ध लगाए पनि उसलाई मूलधारमा ल्याउने ढोका बन्द नभएको तर्क गर्नुभयो ।

उहाँले जनतामा उत्पन्न त्रासको वातावरण र लगानीकर्तालाई निरुत्साहित गर्ने काम हुन नहुने पनि जनाउनुभयो । शुभारम्भ कार्यक्रममा नेता नेपालले दूरदर्शीताको अभाव, व्यक्तिगत सङ्कीर्णता, स्वार्थ र भ्रष्टाचारका कारण विकासमा बाधा हुने गरेको तर देशले परिवर्तन र विकास खोजेकाले सञ्चार क्षेत्रले विकासमा बाधक तत्वलाई चिनाई सकारात्मक पक्षलाई पनि उत्तिकै स्थान दिनुपर्नेमा पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका नेता नेपालको जोड थियो ।
रासस

Logo