काठमाडौं । नेपालीसँग विवाह गर्ने एक पाकिस्तानी चेलीले नेपाली नागरिकता पाएकी छन् । नेपालीसँग बिहे गरेको एक महिनाभित्रै नेपाली नागरिकता प्रदान गरिएको हो ।
बाग्लुङका सुधिन आचार्यसँग फेसबुकमा चिनजान भएर बिहे गरेकी पाकिस्तानी युवती आम्ना सफिकले एक महिनामै नेपाली नागरिकता पाएकी हुन् । उनले बाग्लुङ जिल्ला प्रशासन कार्यालयबाट आइतबार नेपाली नागरिकता पाएकी हुन् । नागरिकतामा उनको नाम आम्ना सफिक आचार्य कायम भएको छ ।
सफिकले गत ३० फागुनमा नागरिकताका लागि निवेदन दिएकी थिईन् । आइतबार प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल आफैंले आम्नालाई नागरिकता हस्तान्तरण गरे ।
नेपाली नागरिकसँग अदालती बिहे गरेको र पाकिस्तानी नागरिकता त्यागेको प्रमाण पेश गरेका आधारमा वैवाहिक अंगीकृत नागरिकता प्रदान गरिएको प्रजिअ खरेलको भनाई छ ।
नेपालकी बुहारी आम्नाले अब नेपालमा स्थायी बसोबास गर्न सक्नेछिन् भने पाकिस्तान माइत जान त्यहाँको भिसा लिनुपर्नेछ । सुधिन र आम्नाले गत फागुन १२ गते जिल्ला अदालत बाग्लुङमा कानूनी बिहे गरेका थिए ।
आम्नाका तर्फबाट कोही पनि अभिभावक थिएनन् । उनले आफ्नो पाकिस्तानी नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र र केही समयदेखि बाग्लुङ नगरपालिका १२ को अमलाचौरमा अस्थाई बसोबास गरेको सिफारिस पेश गरेकी थिइन् । उनले फोनबाटै आफ्ना बाबुआमासँग सहमति मागेकी थिइन् । मुलुकी देवानी संहिता ०७४ को दवाफ ७७ बमोजिम दर्ता विवाह गर्न केटा र केटी मञ्जुर भए न्यायाधीशले गराइदिन सक्ने व्यवस्था छ ।
तस्बिरः सुधिन आचार्यको फेसबुकबाट





























प्रतिक्रिया