लुटेरा समुहलाई चन्दा नदिन जनप्रतिनिधिलाई प्रधानमन्त्रीको आग्रह

लुटेरा समुहलाई चन्दा नदिन जनप्रतिनिधिलाई प्रधानमन्त्रीको आग्रह

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले लुटपाट गर्ने समूहलाई चन्दा नदिन जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ । नेपाल नगरपालिका सङ्घद्वारा २६ औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “लुटेराले तपाईंहरुलाई धम्क्याउलान्, चन्दा माग्लान् तर उनीहरुलाई चन्दा नदिनुहोस् ।”

लुटेरा प्रवृत्तिले देशको विकास हुँदैन । यस्ता प्रवृत्तिलाई नेपाली समाजले स्वीकार्दैन ।” प्रधानमन्त्री ओलीले जनप्रतिनिधिको इमान डगमगायो भने जनताको जनप्रतिनिधिमूलक संस्थामाथिको विश्वास पनि डगमगाउने बताउनुभयो ।

“जनप्रतिनिधिमूलक संस्थाप्रति जनताको विश्वास घट्यो भने लोकतन्त्र कमजोर हुन्छ”, उहाँले भन्नुभयो, “त्यसकारण तपाईंहरुको आचरणका आधारमा लोकतन्त्रप्रति जनताले दृष्टिकोण बनाउने हुन् । यसमा सबैले सजग हुनुपर्दछ ।” प्रधानमन्त्री ओलीले मुलुकबाट पृथकतावादी आन्दोलन समाप्त भएको बताउँदै भन्नुभयो, “पृथकतावादका नाममा ठाउँठाउँमा कार्यपत्र प्रष्तुत गरेर हिँड्नेले अहिले यसको विरोध गरेका छन् ।”

प्रधानमन्त्री ओलीले निर्वाचनका बेला जनतासँग गरेका प्रतिबद्धता नभुल्न पनि जनप्रतिनिधिलाई सम्झाउनुभयो । “अवसर सक्षम र गरीबलाई दिनुहोस् आफ्ना छोराछोरीलाई होइन”, उहाँले भन्नुभयो, “निर्वाचनका बेला तपाईंले छोराछोरीसँग होइन मतदातालाई सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको हो ।”

प्रधानमन्त्री ओलीले स्थानीय तहका अधिकारका विषयमा नगरपालिका सङ्घ, गाउँपालिका महासङ्घ र जिल्ला समन्वय समिति महासङ्घका प्रतिनिधिसँग छलफल गर्ने बताउनु भएको छ । कार्यक्रममा उहाँले नगरपालिकाका ‘असल अभ्यास’ नामको पुस्तक विमोचन गर्नुभएको छ ।
रासस

Skip This
Skip This
Logo