काठमाडौँ
बैंकको ब्याजदर घटाउन बैंकर र व्यवसायीबीच समिति गठन गरी समस्या समाधान गर्ने सहमति भएको छ । बैंक र व्यवसायीबीच भएको बैठकले दुवै पक्ष सम्मिलित समिति गठन गरेर समस्याको समाधान गर्ने सहमति भएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघ र बैंकर्स संघका पदाधिकारीबीच ब्याजदर घटाउने विषयमा सोमबार भएको छलफलपछि बैंकहरूले ब्याजदर घटाउने योजनाका साथ अघि बढ्ने भएका छन् । दुवै पक्षको सो सहमतिपछि उद्योगी तथा व्यवसायीहरूले राहत पाउने विश्वास गरिएको छ ।
उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले लामो समयदेखि चर्को ब्याजदरको मार खेपेका व्यवसायीले राहत पाउने विश्वास व्यक्त गरिन् । छलफल सकारात्मक भएकाले अब ब्याजदर घट्नेमा व्यवसायी विश्वस्त रहेको उनको भनाइ थियो ।
बैठकमा ब्याजदर र सेवाशुल्क घटाउने, डकुमेन्टेसनको झन्झटिलो व्यवस्था अन्त्य गर्ने, केवाईसीलाई सहज बनाउने तथा तरलता सहज बनाउने लगायतका विषयमा समेत छलफल भएको थियो । यी विषयहरू प्राविधिक विषय भएको भन्दै व्यवसायी र बैंकरका प्रतिनिधि रहेको समिति गठन गरेर समस्या समाधानको उपाय खोज्ने सहमति भएको छ । बजारमा तरलता बढी भयो भने स्वतः ब्याजदर घट्नेमा दुवै पक्ष सहमत भएका छन् ।
सरकारले खर्च गर्न नसकेका कारण बजारमा तरलता अभाव भएको भन्दै तरलता बढाउने उपायबारे सरकारलाई सुझाव दिने विषयमा पनि छलफल भएको छ ।
राजधानीबाट





























प्रतिक्रिया