सीके राउतले गरे सहमति उल्लंघन

सीके राउतले गरे सहमति उल्लंघन

केन्द्रबिन्दु
0
Shares

जनकपुरधाम

अखण्ड र स्वाधीन नेपालसहित सरकारसँग ११ बुँदे सहमति गरी विखण्डनको बाटो त्यागेका डा. सीके राउत जनकपुर आउँदा ‘स्वतन्त्र मधेसको’ नारा घन्किएको छ । सरकार र राउतबीच शुक्रबार ११ बुँदे सहमति भएको थियो । राउतको स्वागतका लागि जनकपुर विमानस्थल पुगेका कार्यकर्ताले ‘फ्री मधेस’ लेखिएको झन्डा बोकेर हिन्दी भाषामा विखण्डनको नारा लगाएका थिए ।

राउतले पृथक्तावादी आन्दोलनको बाटो छाडेर मूलधारको राजनीतिमा प्रवेश गरेको भनिए पनि उनका कार्यकर्ताले पुरानो नारा छाडेका छैनन् । मूलधारको राजनीतिमा प्रवेश गरेपछि आइतबार काठमाडौंबाट जनकपुर आएका राउतलाई स्वागत गर्न जनकपुर विमानस्थल पुगेका समर्थकले स्वतन्त्र मधेसको नारा लगाएका थिए । कार्यकर्ताहरूले ‘नेपाली उपनिवेश मुर्दाबाद, मधेस देश लेके रहेंगे, स्वतन्त्र मधेस गठबन्धन जिन्दावाद’ लगायतका नारा लगाएका थिए ।

राउतलाई सुरक्षा दिन उनका कार्यकर्ताले दस्ता खटाएका थिए । राउतको निजी सुरक्षा दस्तामा रहेका ८ कार्यकर्ता कालो ज्याकेट, टाउकोमा रातो फेटा, मुखमा कालो मास्क, आँखामा कालो चस्मा र स्वतन्त्र मधेस गठबन्धन लेखिएको झन्डा लिई विमानस्थलमा उभिएका थिए ।

राउत विमानस्थलमा आउँदा उनको सुरक्षा गर्न र भीड व्यवस्थापन गर्न सुरक्षा गार्ड खटाइएको उनका समर्थकले बताए । राउत विमानस्थलमा पुग्नु अगावै जिल्ला प्रहरी कार्यालय धनुषाबाट दुईजना सुरक्षा गार्ड भिआइपी कक्षमा पुगेका थिए । उनी विमानस्थलमा पुगेपछि सञ्चारकर्मीसँग कुराकानी गर्न समर्थकहरूले रोक लगाए । उनको तस्बिर खिच्ने प्रयास गर्दा कार्यकर्ताहरू सञ्चारकर्मीमाथि जाइलागेका थिए । राउतसँग प्रश्न गर्ने सञ्चारकर्मीलाई समर्थकले दुव्र्यवहार गरे । भिआइपी कक्षबाट राउतलाई उनको सुरक्षा दस्ताले घेरेर बाहिर निकालेको थियो । राउतले पनि सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिएनन् ।
अन्नपूर्णबाट

Logo