काठमाडौँ
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व गृहमन्त्री भीम बहादुर रावलले सरकार र सीके राउतबीच भएको सहमति कुनै पनि हालतमा मान्य नहुने स्पष्ट पारेका छन् । उनले उक्त सहमतिले कतै राष्ट्र टुक्राउने कुरालाई वैद्यता त प्रदान गर्दैन् ? भन्दै प्रश्न समेत तेर्साए ।
सरकार र सीके राउतबीच ११ बुँदे सहमति भएको भोलिपल्ट शनिबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रावलले भने, ‘देशलाई शान्तिको बाटोमा लैजानुपर्ने र समृद्धिको बाटोमा अघि बढाउनको लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्छ, यसमा कसैको विरोध हुँदैन । सरकारले त्यस्तो प्रयास गर्नुपर्छ । तर राउतसँग सहमति गरेर त्यस्तो गरेको मलाई लागेको छैन ।’
उनले थपे, ‘राउतजीले म अब नेपालको संविधान अनुसार शान्तिपूर्ण राजनीतिक प्रतिष्पर्धामा आएँ भनेर हिजो बोलेको भए म आज यहाँ स्वागत गर्थैं । तर उहाँले आफ्नो सम्बोधनमा त्यस्तो बोल्नु भएन । उहाँले यसअघि राष्ट्र विरुद्धमा र देश टुक्र्याउने क्रियाकलाप र अभिव्यक्ति दिनुभएको थियो, ती सबै गलत हुन र म फिर्ता लिन्छु भनेर एक शब्द पनि बोल्नु भएन ।’
रावलले सरकारले कसैसँग सम्झौता वा सहमति गर्दा त्यस सम्बन्धी उद्देश्य, गन्तव्य र एउटा स्पष्ट धारणा हुनुपर्नेमा सीके राउतसँग सम्झौता गर्दा उद्देश्य स्पष्ट नदेखिएको आरोप लगाए । रावलले कसको स्वार्थमा यत्रो सहमति गरियो भन्दै सरकारलाई प्रश्न गरे । उनले भने, ‘सरकारले यसको जवाफ दिनुपर्छ । सहमतिको बुँदा नम्बर ४ मा स्व–शासनको कुरा उल्लेख गरिएको छ, जुन कुरा हामीले संविधान बनाउँदासमेत मानेका थिएनौं । अहिले फेरि यो कुराले प्रवेश किन पायो ?’
उनले यो सहमतिमा हस्ताक्षर गर्ने गृहमन्त्री रामबहादुर थापाको राजीनामाबारे अब बस्ने बैठकमा छलफल हुने पनि जिकिर गरे । उनले भने, ‘अब बस्ने पार्टीको बैठकमा यो विषयमा छलफल हुन्छ ।’
नागरिकबाट





























प्रतिक्रिया