काठमाडौँ
सुरक्षण मुद्रण स्थापना तथा भूउपग्रह सञ्चालन एवम् व्यवस्थापन गर्न नेपाल र फ्रान्सबीच सहमति भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको फागुन २४ गते सम्पन्न फ्रान्सको छ दिवसीय भ्रमणका क्रममा त्यस्तो सहमति भएको हो ।
अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियू) ले नेपाललाई उपलब्ध गराएको ‘अर्बिटल स्लट’ मा भूउपग्रह सञ्चालन एवम् व्यवस्थापन गर्ने नेपाल सरकारको योजना कार्यान्वयन गर्न फ्रान्स सरकारले नेपाललाई सहुलियतपूर्ण आर्थिक सहयोग तथा प्राविधिक लगायत अन्य आवश्यक सहयोग उपलब्ध गराउने सहमति भएको मन्त्री बाँस्कोटाले सञ्चारकर्मीलाई बताउनुभयो ।
फागुन १३ देखि १५ गतेसम्म स्पेनको बार्सिलोनामा आयोजना भएको मोबाइल सञ्चार सम्बन्धी विश्वव्यापी प्रणाली (जिएसएम) को मन्त्रीस्तरीय कार्यक्रममा सहभागी तथा फ्रान्सका विदेश राज्यमन्त्री जँ वाप्टिस्ट लम्बानको निमन्त्राणमा फ्रान्सको औपचारिक भ्रमण पूरा गरी शनिबारअपराह्न स्वदेश फर्कनु भएका मन्त्री बाँस्कोटाले सुरक्षण मुद्रण स्थापना तथा भूउपग्रह सञ्चालन गर्न मन्त्रीस्तरमा दुई देशका सरकारबीच आशयपत्रमा हस्ताक्षर भएको जानकारी दिनुभयो ।
नेपाल सरकारको सुरक्षण मुद्रण केन्द्र र फ्रान्स सरकारको स्वामित्वमा रहेको ‘इन्ग्रुपे’ कम्पनीबीच सुरक्षण मुद्रण स्थापना गर्ने तथा भूउपग्रह सञ्चालन सम्बन्धी समझादारीपत्रमा नेपाल दूरसञ्चार प्राधिकरण र फ्रान्स सरकारको थालेस एलेनियाबीच हस्ताक्षर भएको जानकारी उहाँले दिनुभयो । दुवै समझदारीपत्रमा कम्तिमा तीन महिनाभित्र परियोजना सम्झौता करार गरी काम शुरु गर्ने तथा सुरक्षण मुद्रणको काम तीन वर्षभित्र र भूउपग्रह सम्बन्धी काम तीस महिनाभित्र सम्पन्न गर्ने समयसीमा तोकिएको मन्त्री बाँस्कोटाले बताउनुभयो ।
प्यारिसमा रहँदा मन्त्री बाँस्कोटा र विदेश राज्यमन्त्री लम्बानबीच द्विपक्षीय भेटवार्ता भएको थियो । त्यसक्रममा उहाँहरूबीच नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको उपलक्ष्यमा उच्चस्तरीय भ्रमण आदानप्रदान त्यसमार्फत आपसी सम्बन्ध अझ बलियो बनाउने, दुवै देशका साझा चासो र आकर्षणका क्षेत्र पहिल्याउने विषयमा विचारविमर्श भएको थियो ।
नेपालको आर्थिक–सामाजिक उन्नयनका निम्ति विकासका साझेदारबाट सहायताका साथै लगानी भित्र्याउने सन्दर्भमा आगामी चैतमा काठमाडौंमा आयोजना हुने लगानी सम्मेलनमा भाग लिन फ्रान्सेली लगानीकर्तालाई अभिप्रेरित गर्न आफूले विदेश राज्यमन्त्री लम्बानलाई आग्रह गरेको बताउनुभयो ।
प्रत्युत्तरमा विदेश राज्यमन्त्री लम्बानले नेपालको पर्यटन, पूर्वाधार र प्रविधि विकासका क्षेत्रमा लगानी गर्न आफूहरू इच्छुक रहेको जानकारी दिँदै आपसी सहमतिबाट सहयोग र सहकार्यका अन्य क्षेत्र पहिल्याउँदै दुई देशबीचको सम्बन्धलाई नयाँ उचार्इमा पु¥याउने फ्रान्सेली प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
मन्त्री बाँस्कोटालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ, सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारी तथा उक्त मन्त्रालया वरिष्ठ अधिकारीले स्वागत गर्नुभएको थियो ।
रासस































प्रतिक्रिया