तलब र सुविधामा विभेद भएको महिला मजदुरको गुनासो

तलब र सुविधामा विभेद भएको महिला मजदुरको गुनासो

केन्द्रबिन्दु
0
Shares

चितवन

मदिरा उद्योगमा कार्यरत महिला मजदुरले तलब–सुविधामा विभेद हुने गरेको गुनासो गरेका छन् । १ सय ९ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा चितवनको नारायणगढस्थित यती डिस्टिलरी मदिरा उद्योगमा आयोजित अन्तक्रिया कार्यक्रममा एक सय महिला सहभागी थिए  ।

उद्योगमा घन्टौँ समय लाइनमा उभिएर काम गर्नुपर्ने, गहुँगो भारी बोक्नुपर्ने, सानो गल्तीमा पनि सुपरभाइजरले अनावश्यक गालीगलौज गर्ने गरेको, घाइते हुँदा उपचार खर्च नपाएको ,सानो गल्तीमा पनि एक दिनकै हाजिर काटिदिने गरेको , थर्काउने, जागिर खाइदिन्छु भन्ने जस्ता हप्कीदप्की उद्योगका माथिल्ला तहका कर्मचारीले लगाउने गरेको महिला मजदुरको गुनासो छ । मदिरा उद्योगका प्रतिनिधि निर्मल श्रेष्ठले २ सय बढी महिला कामदारहरू उद्योगमा कार्यरत रहेको बताए । उनले व्यवस्थापन पक्षबाट कुनै भेदभावको व्यवहार नभएको बताए ।

यौनजन्य हिंसाविरुद्धको साझा अभियान चितवनकी संयोजक मीना खरेलले जुनसुकै उद्योगमा काम गरे तापनि महिलाको अवस्था कमजोर रहेको बताइन् । आफ्ना कुरा व्यवस्थापन पक्षसँग राख्न नसक्ने, अन्तरमुखी स्वभाव, कमजोर शारीरिक अवस्था आदिले महिला पछि परेको उनले बताइन् ।

एउटै उद्योगमा समान प्रकृतिको काम गर्ने महिला र पुरुषबीच असमान खालको ज्यालाको व्यवस्था रहेको उनको भनाइ थियो । ‘न्युयोर्कको सय वर्ष अघिको पीडा र नेपाली महिलाको अहिलेको पीडा उस्तै छ,’ संयोजक खरेलले भनिन्, ‘कसैको भाषण गरेर औपचारिक दिनु भन्दा उद्योगमा कार्यरत महिलाको वास्तविकता थाहा पाउन नयाँ शैलीको कार्यक्रम गरिएको हो ।’
नयाँ पत्रिकाबाट

Logo