बुटवल
प्रदेश ५ सरकारले योजनाबद्ध विकास र योजना तर्जुमाका लागि सहयोग पुग्नेगरी प्रदेशको वस्तुस्थिति विवरण तयार गरेको छ । प्रदेशको भौगोलिक, सामाजिक, आर्थिक, प्रशासनिक, जनसंख्या, कृषि, आवास, उद्योग, पर्यटन, वित्त, श्रम, शिक्षा, स्वास्थ्य लगायत हरेकक्षेत्रको वस्तुस्थिति विवरण पुस्तकमा समावेश गरिएको छ । यसमा निर्वाचित जनप्रतिनिधिदेखि श्रम, वित्त, यातायात, सिँचाइ, जलविद्युत , आवास, आय, गरिबी, रोजगारी जस्ता विषयमा तथ्यांकमा आधारित जानकारी राखिएको छ ।
प्रदेश विकासका लागि योजना तर्जुमा गर्न र प्रदेशको वस्तुस्थितिबारे यथार्थ जानकारी गराउने उद्देस्यले सरकारले सो विवरण तयार गरेको मुख्यमन्त्री शंकर पोखरेलले बताए । बुधबार पुस्तक सार्वजनिक गर्दै मुख्यमन्त्री पोखरेलले १ वर्षको अवधिमा जनताले खोजेको बेला प्रदेश सरकार भेटिने अवस्था निर्माण भइसकेको बताए । बाँकी ६ वटा प्रदेशका विशेषता प्रदेश ५ मा भेटिने भएकाले यसलाइ मिनी नेपाल भएको उनले उल्लेख गरे । प्रदेश ५ को विकासले मुलुकलाइ नै समृद्ध बनाउन सक्ने भन्दै मुख्यमन्त्री पोखरेलले कृषि र पर्यटन र उद्योगलाई आधार बनाएर दिगो विकासको लक्ष्यमा प्रदेश सरकार अगाडि बढेको दाबी पनि गरे ।
यो प्रदेशमा कुल ४४ लाख ९९ हजार २७२ जनसंख्यामध्ये २९.५ प्रतिशत निरपेक्ष गरीबीको रेखामुनि छन् । प्रदेशमा कुल ८ लाख ८० हजार ६ सय ९७ परिवार संख्या छन् भने जनसंख्या वृद्धिदर १.३७ प्रतिशत छ । यो प्रदेशमा १ सय १ जाती बसोबास गर्ने र तीनले ४४ वटा भाषा बोल्ने स्थिति विवरणमा उल्लेख छ । यो प्रदेशमा ८६ हजार २ सय ७६ व्यक्ति विभिन्न खालका अपांगता भएका नागरिक छन् । यो प्रदेशमा रोजगारीका सिलसिलामा घर छोड्नेको संख्या ८४.४ प्रतिशत छ । अर्थात् यस प्रदेशमा घर भएका ४ लाख १० हजार ७ सय ५१ व्यक्ति अनुपस्थित छन् । उनीहरू अनुपस्थित हुनुको मुख्य कारण रोजगारीनै भएको स्थिति विवरणमा उल्लेख छ ।
नागरिकबाट





























प्रतिक्रिया