काठमाडौँ
सेना दिवसका अवसरका नेपाली सेनाले आयोजना गरेको रात्रिभोजमा राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका कारण लामो समय सडक अवरुद्ध भएको भन्दै सर्वसाधारणले मंगलबार ट्राफिक निर्देशन अवज्ञा गरेर गाडी चलाए ।
शितलनिवासदेखि सेनाले आयोजना गरेको रात्रिभोज स्थलसम्म आइपुग्न बढीमा १५ मिनेट लाग्ने भए पनि राष्ट्रपतिको सवारीका नाममा सर्वसाधारणलाई एक घन्टा भन्दा बढी सडकमा गाडी चलाउन रोक लगाइयो । यसै कारण सर्वसाधारण आक्रोशित भएर सडकमा लगाइएको निषेधको अवज्ञा गरेका हुन् ।
राष्ट्रपतिको सवारीप्रति सर्वसाधारणको गुनासो भइरहँदा पनि सम्बोधन गर्ने प्रयास कतैबाट भएको छैन । भिभिआइपीको सुरक्षा जिम्मा लिएको नेपाली सेनाले राष्ट्रपतिको सवारी रूट निर्धारण र त्यसको जानकारी नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई गराएपछि प्रहरीले सडक सुरक्षा प्रबन्ध र ट्राफिक प्रहरीले निर्धारित सवारी रूटमा अन्य सवारीसाधन सञ्चालनमा रोक लगाउँछ । यसो गर्दा सबैभन्दा बढी सर्वसाधारणले सास्ती पाउने गरेका छन् ।
मंगलबार पनि सर्वसाधारण घर फर्किने बेला लाजिम्पाटमा राष्ट्रपतिको सवारीका कारण लामो समय रोकिनुप¥यो । ट्राफिक प्रहरीले साढे ६ बजे ‘अबको केही समयमा विशेष कारणवश शितलनिवास, पानीपोखरी, लैनचौर, केशरमहल, महेन्द्र सालिक, भद्रकाली हुँदै चल्ने सवारीसाधनहरु एकतर्फीरूपमै प्रभावित हुने कारण सो रूट भएर चल्ने सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिन्छ,’ भन्दै फेसबुक मार्फत जानकारी गराएको थियो । तर कति समय भन्ने जानकारी गराइएको थिएन । समय निर्धारण नहुँदा पनि सर्वसाधारणले सास्ती पाए । धेरैबेर सडकमा बस्नुपरेपछि सर्वसाधारणले ड्युटीमा रहेका ट्राफिक प्रहरीको आदेश उल्लंघन गर्दै आफ्ना सवारी अघि बढाएका थिए ।
केही समययता प्रहरी तालिम केन्द्र हटाएर राष्ट्रपति निवास बढाउन खोजेको, विलासी गाडी र हेलिकोप्टर किन्न लगाएको भन्दै राष्ट्रपतिको आलोचना हुँदै आएको छ । त्यतिमात्र होइन गत दसैंमा राष्ट्रपति निवासमा टीकाजमरा लगाउने कार्यक्रमस्थलमा टीका थाप्नेलाई कुर्सीसमेतको व्यवस्था नगरेको भन्दै उनको आलोचना भएको थियो ।
राष्ट्रपति आइतबार अमेरिका जाँदै छिन् । त्यसदिन दुईतर्फी सडक खाली गराउनुपर्ने हुन्छ । संयुक्त राष्ट्रसंघीय आयोग (सिएसडब्ल्यु) को ६३ औं बैठकमा भाग लिन जाने कार्यक्रम औपचारिक भएकाले शितलनिवासदेखि एयरपोर्टसम्म सडक खाली गराउनुपर्छ । तर सुरक्षा निकायले सवारी रुट निर्धारण भने गरेको छैन ।
नागरिकबाट





























प्रतिक्रिया