काठमाडौं
बालविवाहविरुद्ध १५ हजार व्यक्तिले साझा प्रतिबद्धता जनाउने भएका छन् । सोमबारबाट सुरु बालविवाहविरुद्धको सञ्चार अभियानमा देशभरिका ७७ जिल्लाका १५ हजार व्यक्तिले प्रतिबद्धता जनाउनेछन् ।
देशैभरिका सामुदायिक रेडियोको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अको-याबद्वारा सञ्चालित सामुदायिक सूचना नेटवर्क (सीआईएन)ले प्रतिबद्धता संकलन लगायत सञ्चार अभियान सुरु गरेको हो । अभियान ४ महिनासम्म चल्नेछ ।
अभियानमा संघीय सरकारका मन्त्री, सातै प्रदेशका मुख्यमन्त्री, सांसदसहित सबै क्षेत्रका व्यक्तिले प्रतिबद्धता जनाउनेछन्। देशभरि रहेका सामुदायिक रेडियोमार्फत तल्लो तहका नागरिकको आवाज संकलन गर्ने र सीआईएनमार्फत नीतिगत तहमा सरोकारवालाको प्रतिबद्धता लिइने सीआईएन प्रबन्धक दीपक आचार्यले जानकारी दिए ।
अभियानकै क्रममा बालविवाह बढी हुने क्षेत्रमा पुगेर खुला छलफलसमेत गरिनेछ। बालविवाहविरुद्धको प्रतिबद्धता पूरा गर्न, विचार राख्न र सृजनाहरू प्रस्तुत गर्न सीआईएनको स्टुडियो सधैं खुला रहने र टेलिफोनमार्फत रेकर्ड गराउने व्यवस्था मिलाइएको छ ।
चार महिनाभित्र १५ हजार व्यक्तिको प्रतिबद्धता संकलन गरी प्रसारण गर्ने, रेडियो कार्यक्रम सञ्चालन गर्ने, बालविवाहविरुद्ध जनचेतनामूलक सन्देश, बालविवाहविरुद्धका गीत प्रसारण गर्ने र जिल्ला जिल्लाका सार्वजनिक ठाउँमा अभियानात्मक कार्यक्रम गर्ने आचार्यले बताए। बालविवाह अन्त्यका लागि स्थानीय तहका पदाधिकारीदेखि गाउँसम्म पुगी प्रतिबद्धता संकलन गरी प्रसारण गर्ने तयारी सीआईएनले गरेको छ ।
अभियानका क्रममा सीआईएन र सामुदायिक रेडियोले ठाउँठाउँबाट प्रत्यक्ष प्रसारण, स्टुडियोमा छलफल तथा विचार प्रसारण गर्नेछन्। बालविवाहविरुद्धको सन्देशलाई रेडियो लगायत सञ्चार माध्यममार्फत फैलाउँदा बढी प्रभावकारी हुने भएकाले अभियानमा साथ दिन सबै सञ्चारमाध्यमलाई आग्रह गरिएको छ ।
अभियानमा बालविवाहविरुद्ध विचार र प्रतिबद्धता सीआईएनको स्टुडियोमै पुगेर पनि जो सुकैले आफ्नै आवाजमा राख्न सक्ने व्यवस्था गरिएको जनाइएको छ । २०६८ सालको जनगणना अनुसार १० देखि १९ वर्षभित्र विवाह गर्नेको संख्या ४८.९५ प्रतिशत देखाएको थियो ।
नागरिकबाट





























प्रतिक्रिया