बीस स्थानमा भूकम्प मापन स्टेशन निर्माण हुँदै

बीस स्थानमा भूकम्प मापन स्टेशन निर्माण हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

भूकम्पको जोखिममा रहेका नेपालका बीस स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण हुने भएको छ ।

सरकारले भूकम्पको जोखिमलाई दृष्टिगत गरी विभिन्न देशको सहयोगमा बीस स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण गर्न लागेको हो । जसमध्ये चीन सरकारको सहयोगमा १०, जापान सरकारको सहयोगमा आठ र राइम्सको सहयोगमा दुई स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण हुन लागेको हो ।

चीन सरकारको सहयोगमा सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, लमजुङ, मुस्ताङ, डोल्पा, मुगु, बाजुरा, दार्चुला लगायत जिल्लामा ‘भूकम्प मापन स्टेशन’ निर्माण हुन लागेको छ । त्यस्तै जापान सरकारको सहयोगमा सिन्धुली, बारा, चितवन, नवलपरासी, स्याङ्जा, म्याग्दी, कपिलवस्तु, रोल्पा तथा रायम्सको सहयोगमा महोत्तरी र दाङमा स्टेशन निर्माण हुन लागेको छ । २०३७ सालमा फूलचोकी डाँडामा पहिलो भूकम्प मापन स्टेशन स्थापना भएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले स्टेशन निर्माण भएपछि नेपालभरका भूकम्पको डाटा मापन गर्न सहज हुने बताउनुभयो । “धेरै स्टेशन निर्माण भएसँगै सानाभन्दा साना भूकम्पको समेत मापन गर्न सहज हुन्छ,” उहाँले भन्नुभयो । २०७२ साल वैशाख १२ गतेको भूकम्पपछि नेपालमा चार रेक्टर स्केलभन्दा माथिका ५०० भन्दा बढी र चार रेक्टर स्केल भन्दा साना ५० हजार भन्दा धेरै भूकम्प गइसकेको केन्द्रले जनाएको छ ।

Logo