जसले पर्यटन विकासमा आशाको किरण छरे…

जसले पर्यटन विकासमा आशाको किरण छरे…

केन्द्रबिन्दु
0
Shares

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको अकल्पनीय निधनमा पोखराका पर्यटन व्यवसायीले दुःख व्यक्त गरेका छन् ।

विसं २०७४ को सङ्घीय संसद्मा कास्की क्षेत्र नं २ बाट निर्वाचित अधिकारी लगातार तेस्रो पटक निर्वाचित भएर मन्त्री बनेका थिए  । गण्डकी प्रदेशको राजधानी र पर्यटकीय नगरी पोखराका बासिन्दासमेत रहनुभएका विकासप्रेमी नेता अधिकारीको ताप्लेजुङमा जहाज दुर्घटनामा निधन भएपछि पोखरेली पर्यटन व्यवसायीले अपूरणीय क्षति भएको बताएका छन् ।

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा)का गण्डकी प्रदेशका अध्यक्ष सन्तोष पोखरेल मन्त्री अधिकारी वर्तमान विश्व परिप्रेक्षमा विकसित देशसँग नेपालको पर्यटनलाई कसरी जोड्न सकिन्छ भनेर अध्ययन गर्ने एक बौद्धिक नेता रहेको बताउनुहुन्छ । आलोचनाका बीचमा पनि आफ्नो लक्ष्य हासिल गर्न निरन्तर उही गतिमा लागिरहने एक दूरदर्शी अधिकारी जस्तो नेता जन्माउन पोखराले अब धेरै वर्ष कुर्नुपर्ने हुन सक्दछ ।

पर्यटनको माध्यमबाट मात्र नेपालको समृद्धि सम्भव छ भनेर पर्यटनको महत्व बुझेको व्यक्तित्व पर्यटन मन्त्री हुँदा विभिन्न महत्वाकांक्षी योजनाहरुको थालनी भइसकेका छन् । पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुन लाग्नु पोखराको मात्रै नभएर सिङ्गो राष्ट्रिय गौरवको आयोजनाले उनकै कार्यकालमा गति लिएको छ ।

‘‘मन्त्री अधिकारीको निधनले पोखरेलीको शान र धरोहर नै गुम्न पुग्यो’’ ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल(टान) पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेल भन्छन, ‘‘उहाँको निधनले नेपाल र पोखराको पर्यटन क्षेत्रमा अपूरणीय क्षति भएको छ ।’’
नेपाल सरकारको भ्रमण वर्ष २०२० र गण्डकी प्रदेशले आन्तरिक भ्रमण वर्ष २०१९ को घोषणा गरेको छ । मन्त्री अधिकारीको गृह नगरी पोखरा आफैँमा पर्यटकीय शहर हो यसको विकासमा उनले विशेष चासो र सक्रियता देखाएका थिए ।

पर्यटनलाई नै समृद्धिको आधार बनाएर सम्भावनाको खोजी गर्दै अघि बढ्नुभएका मन्त्रीले ट्रेकिङ क्षेत्रलाई सुधार्न पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । विकासप्रेमी र पछिल्लो पुस्ताका लागि पनि एक आशलाग्दो नेताको रुपमा आफ्नो छवि बनाउँदै जानुभएका अधिकारीको मृत्युलाई यतिबेला स्वीकार्न गाह्रो भएको छ । द्वन्द्व र भूकम्प अनि नाकाबन्दीको मारमा परेको पर्यटन क्षेत्रलाई नेपाल भ्रमण वर्ष २०२० र पर्यटन प्रवद्र्धनका कार्यक्रमको थालनी गरेर पर्यटन व्यवसायीलाई आशाको किरण छर्दै गरेका मन्त्री अधिकारी जस्तो नेता पाउन अब वर्षौ कुर्नुपर्नेछ ।

संसद्को विकास समितिमा रहँदा नेपालमा विकासको बहसलाई नयाँ उचाइमा पु¥याउन सफल अधिकारीले राष्ट्रिय गौरवका योजना र अन्य विकास निर्माणका योजनालाई सफल बनाउन क्रियाशील रहेको बताउछन् पर्यटन बोर्डको पूर्व सदस्य एवं पर्यटन विज्ञ टोली सदस्यसमेत रहनुभएका वासु त्रिपाठी । उनी भन्छन, “अधिकारी पर्यटनमन्त्री बनेसँगै पोखराले पनि सङ्घीय सरकारको तर्फबाट पर्यटन विकासमा धेरै आशा राखेको थियो ।’’

पोखरालाई विश्वकै उत्कृष्ट शहर बनाउने लक्ष्यसहित विभिन्न बाधा अवरोध र आलोचनालाई चिर्दै अविचलित अघि बढेका पाइला एकाएक गुम्यो । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल, चक्रपथ, काठमाडौँ–पोखरा– लुम्बिनी द्रुत मार्ग, काठमाडौँ पोखरा रेल्वे, मध्यपहाड़ी राजमार्गजस्ता पूर्वाधार निर्माणको दबाब सिर्जना गर्दै जनताले अनुभूति गर्ने गरी रफ्तारमा काम गर्नुभएको थियो । आफूमाथि पछिल्लो समय लागेका कतिपय आरोप झुट्टा थिए भनेर देखाउन पनि नपाई उनको भौतिक शरीर हामीबाट विलिन भयो । इतिहासले पक्कै पनि उनको मूल्याङ्कन गर्नेछ ।

महिला पर्यटन व्यवसायी मञ्चका (ओटेफ)का अध्यक्ष जमुना पराजुली, रवीन्द्र अधिकारी पोखराको गर्व गर्ने र पोखराको ‘ब्राण्ड’सँग जोडिएको राजनीतिक नाम भएको बताउछिन । हँसिलो अनुहार र मिलनसार स्वभावले अनि फरक विचार राख्ने पार्टीका जनताको पनि मन जित्नसक्ने खुबी मन्त्री अधिकारीमा थियो । आज उनको मृत्यु सत्य हो भन्न अझै पनि गाह्रो भएको छ ।

गाउँ पर्यटन प्रर्वद्धन मञ्च (भिटोफ) अध्यक्ष रवीन्द्रराज पौडेलले मन्त्री अधिकारीको अप्रत्यासित हवाइ दुर्घटनाबाट भएको निधनले पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेको बताए  । पर्यटन क्षेत्रको बृहत्तर विकास योजनासहित ग्रामीण पर्यटन प्रर्वद्धनमा समेत विशेष पहल गरेका मन्त्री अधिकारीको निधनसँग हामीले देखेका धेरै सपना पनि अधुरो भएका छन् ।

ग्रामीण पर्यटन र संस्कृति संरक्षण प्रवद्र्धनमा उनले दीर्घकालीन योजना सुनाउथे । पोखराको पर्यटन विकास, ग्रामीण बाटो, ताल तलैयाको संरक्षणको क्षेत्रमा उहाँको भूमिका थियो । समृद्ध नेपाल खुशी नेपालीको नारालाई सार्थक बनाउन पर्यटनको जग बलियो बनाउनुपर्छ र पिलर ठडाउनुपर्छ भन्ने एक कुशल अभिभावक हामीले गुमायौ ।

Logo