पोखरा
दिनभर घरमा शुभेच्छकको भीड लागिरहँदा स्वराज अधिकारी बार्दलीमा निस्किएर भीड नियाल्दै थिए । उनी घरि भित्र गएर हजुरआमालाई सुम्मुम्याउँथे त घरि बाहिर आएर बाटोतिर आँखा लगाउँथे । जसै भीड यतैकतै रवीन्द्र अधिकारी छन् भनेर बाटैतिर आँखा लगाइरहन्थ्यो । उसैगरी ८ वर्षे स्वराज बाबा बाटोतिरै हेरिरहेका थिए । ‘हाँस्दै र हात हल्लाउँदै आइहाल्छन् जस्तो लाग्ने’, भीडमा आवाज आयो, ‘पत्यारै लागेको छैन ।’
पर्यटन मन्त्री रवीन्द्र अधिकारीको घरमा बिहीबार दिनभर शुभेच्छुक पुगे । आमाबाबुलाई भेटे र सान्त्वना दिए । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित सबै ७ मन्त्रीले बिहीबार स्वर्गीय रवीन्द्रको पोखरा ५ स्थित घर पुगी उनका आमाबुवालाई भेटेर समवेदना प्रकट गरे ।
मन्त्री अधिकारीको घरमा बिहीबार थुप्रै शुभचिन्तक पुगेका थिए । बुधबार काठमाडौं लगिएका उनका आमाबुवा बिहीबार फेरि जहाजमै पोखरा फर्किए । काठमाडौंमै अन्त्येष्टि हुनसक्ने भन्दै आमाबाबुलाई बुधबार काठमाडौं लगिएको थियो ।
पोखरेलीहरुको आग्रह अनुसार मन्त्री अधिकारीको अन्त्येष्टि सरकारले पोखरामै तय गरेपछि आमाबुवा फेरि पोखरानै फर्किएका हुन् । अर्को छोरा दीपेन्द्र, छोरी विमलासहित आमा लक्ष्मी र बाबु इन्द्रप्रसाद बिहीबार नाति (रवीन्द्रका कान्छा छोरा स्वराज) लिएर गृहनगर फर्किएका हुन् । रवीन्द्रकी श्रीमती विद्या भट्टराई काठमाडौं मन्त्री क्वाटरमा छिन् । भारतको बैंगलोरमा पढिरहेका जेठा छोरा बिराज बिहीबार काठमाडौं आइ पुगेका छन् ।
पोखरा ५ मालेपाटनको जनप्रियमार्गको घर नम्बर २३ मा बिहीबार थुप्रै मान्छेको भीड थियो तर घर सुनसानझैं लाग्थ्यो । टिलपिलाएका आँखाहरु लिएर मानिसहरु मौन बसिरहेका थिए ।
अन्नपूर्णबाट





























प्रतिक्रिया