नेपालमा बिजनेस भिसामा बसेर अपराध गर्दै विदेशी नागरिक

नेपालमा बिजनेस भिसामा बसेर अपराध गर्दै विदेशी नागरिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपालमा बिजनेस भिसामा बसेका विदेशी नागरिक धार्मिक र आपराधिक गतिविधिमा संलग्न हुने क्रम बढ्दै गएको छ । बिजनेस गर्न लगानी ल्याउने भन्दै उनीहरूले सजिलै भिसा पाउने गरेका छन्  । तर लगानी भने वार्षिक रूपमा घट्दै गएको छ । गत आर्थिक वर्षको पहिलो सात महिनाको तुलनामा यो वर्षको सोही अवधिमा नेपालमा विदेशी लगानी घटेको छ । लगानी घटे पनि विदेशी लगानीमा स्थापना हुने साना कम्पनीको संख्या भने बढ्दो छ ।

साना कम्पनीका नाममा लगानी बढ्नु शंकास्पद रहेको उद्योग विभागका अधिकारीहरू बताउँछन् । कम्पनी खोलेपछि बिजनेस भिसा पाइने भएकाले व्यापारको नाममा अन्य गतिविधिमा संलग्न हुन विदेशीहरूले साना कम्पनीमा लगानी बढेको उनीहरूको भनाइ छ । विभागका अनुसार अघिल्लो आर्थिक वर्षको पहिलो सात महिनामा १४ अर्ब एक करोड ७३ लाख रुपैयाँ वैदेशिक लगानी भित्रिएको थियो । चालू आर्थिक वर्षको सोही अवधिमा ११ अर्ब मात्र विदेशी लगानी आएको छ, तर कम्पनीको संख्या भने बढेको छ ।

विभागका निर्देशक प्रसन्न बोहराका अनुसार गत आर्थिक वर्षको यही अवधिमा विदेशी लगानीमा १७८ प्रोजेक्ट आएका थिए, तर यो वर्ष २१३ वटाले अनुमति लिएका छन् । ‘साना लगानीका प्रोजेक्टहरू बढेका छन्,’ उनले भने, ‘कतिपयले व्यापार गर्ने नाममा अन्य कामका लागि पनि यसरी प्रोजेक्ट भित्र्याएका हुन सक्छन् ।’

गत असारमा बिजनेस भिसामा बसेर चर्च खोल्ने फिलिपिनी नागरिक दे भेरा रिचर्ड र इन्डोनेसियाकी रीता गोङ्गालाई पक्राउ गरी अध्यागमन विभागले निष्कासन गरेको थियो । ठमेलमा काठमाडौं वान नामक होटेल चलाउने चिनियाँ नागरिक सुन तस्करीमा संलग्न भएका थिए । गत असारमै युक्रेनका दुई नागरिक वैदेशिक रोजगारी ठगीको आरोपमा पुतलीसडकबाट पक्राउ परेका थिए ।

उनीहरूले पोल्यान्ड पठाउने भनेर ठगी गरेका थिए । बिजनेस भिसामा बस्दै आएका केही चिनियाँ नागरिक अवैध डलर तथा वन्यजन्तुको अंगको कारोबारको आरोपमा समेत पक्राउ परेका छन् । चितवनमा बेकरी सञ्चालन गर्दै आएका कोरियन नागरिक धर्म प्रचारमा संलग्न पाएपछि उनीहरूलाई हालै सचेत गराइएको छ । पर्यटक भिसामा नेपालमा एक वर्षमा बढीमा १५० दिन मात्र बस्न पाइन्छ । लामो समय नेपाल बस्न चाहनेले बिजनेस भिसा लिने गरेका छन् ।
नयाँ पत्रिकाबाट

Logo