काठमाडौँ । उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण कम गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘नो हर्न’ अभियानलाई थप कडाइ गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
काठमाडौँ उपत्यकामा २०७४ बैशाख १ गतेदेखि ‘हर्न निषेधित क्षेत्र’ घोषणा गरेको थियो । “नो हर्न” लाई अभियानकै रूपमा सञ्चालन गरी पर्चा पम्प्लेट वितरण, सचेतना कार्यक्रम सञ्चालन, नो हर्न स्टिकर टाँस लगायत विविध कार्यक्रम गरी हर्नको अनावश्यक प्रयोगमा कमि आएको थियो ।
सुरुआती दिनमा यसको कार्यान्वयन प्रभावकारी भए पनि पछिल्ला दिनहरूमा क्रमशः हर्नको प्रयोगमा केही वृद्धि भए पश्चात् कडाइका साथ कारबाही समेत ट्राफिक प्रहरीले गर्दै आएको छ ।
सवारीसाधनले अनावश्यक रूपमा हर्न बजाएर वृद्धि हुने ध्वनि प्रदूषणलाई निरुत्साहित गरी प्रदूषण कम गर्न कडाइका साथ प्रस्तुत हुँदै आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिए । जथाभावी हर्न बजाउँदा पैदलयात्री, बालबालिका, जेष्ठ नागरिक तथा बिरामीहरूको स्वास्थ्यमा धेरै असर गर्ने गुनासोहरूलाई समेत ध्यानमा राखी नियमित निगरानी र कारबाही गरिँदै आएको डीआजी बोहराले बताए ।
पछिल्लो समय ट्राफिक प्रहरी नभएको स्थानमा फेरि सवारी साधनहरूले हर्न बजाउन शुरु गरेका छन् । गत आव ०८०–८१ मा अनावश्यक रूपमा हर्नको प्रयोग गर्ने १०१२३ सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ भने यसवर्ष समेत नौ हजार आठ सय तीस सवारी साधनलाई कारबाही गरेको ट्राफिक प्रहरीले जनाएको छ ।
सामान्यत मानिसको सामान्य सुन्ने क्षमता २६ डेसिबलसम्म हुने र सुन्नका लागि ६० डेसिबलसम्मको ध्वनी स्वीकारयोग्य हुन्छ भने ७० डेसिबलको ध्वनी स्वास्थ्यको लागि हानिकारक हुन्छ ।
ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने लगायत असर गर्ने गर्दछ । जथाभावी रूपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निकाल्ने मोटरसाइकलहरू र प्रेसर हर्न बजाउने सवारी साधनले बढी ध्वनि प्रदुषण गर्ने गरेको छ ।
दुर्घटना हुने अवस्था भएमा वा सडकको एक भागबाट अर्को भाग नदेखिने घुम्ती मोडहरू भएको स्थानमा अतिआवश्यक परेको खण्डमा मात्र हर्नको प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । यस्ता जोखिमयुक्त मोडहरूमा पनि विपरीतबाट आउँदै गरेको सवारी साधनलाई संकेत गर्ने गरी छोटो हर्न मात्रै प्रयोग गर्न सुझाएको छ ।































प्रतिक्रिया