बहुमतले विधान पारित भएपछि कांग्रेसमा लफडा

बहुमतले विधान पारित भएपछि कांग्रेसमा लफडा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

कांंग्रेसमा केन्द्रीय सदस्यहरुलाई अरु महाधिवेशन प्रतिनिधि जस्तै तलबाटै निर्वाचित भएर आउन नपर्ने भएको छ । पौडेल र सिटौला पक्षका नेताहरुको असन्तुष्टिको बावजुद केन्द्रीय समितिको बैठकले बहुमतबाट गत पुसको पहिलो हप्ता सकिएको महासमितिबाट सर्वसम्मतले पारित गरेपछि परिमार्जनका लागि केन्द्रीय समितिमा पुगेको थियो । तर प्रस्तावलाई केन्द्रीय समितिले बहुमतले पारित गरेपछि केन्द्रीय सदस्यलाई स्वतः महाधिवेशन प्रतिनिधि हुने बाटो खुलेको हो ।

साथै अब कांग्रेसबाट समानुपातिक सांसदलाई जति पटक पनि दोहोरिने सुविधा भएको छ । महासमितिमा जिल्ला सभापति र महासमिति सदस्यहरुले एक पटक मात्रै समानुपातिकको व्यवस्था गर्न माग गरेका थिए ।

दुई महिना समय लगाएर बहुमतबाट विधान पारित गरिएपछि रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा. रामशरण महत, गगन थापा, अर्जुननरसिंह केसी, धनराज गुरुङ, बलबहादुर केसीसहितका नेताले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले महासमिति बैठकमा सबैभन्दा बढी उठाइएको केन्द्रीय सदस्य पनि जितेर आउनुपर्ने विषयलाई केन्द्रीय समितिले वेवास्ता गरेपछि नोट अफ डिसेन्ट लेख्ने तयारी गरेको जानकारी दिए । ‘उहाँहरुले बहुमतबाट विधान जस्तो विषयलाई पारित गरेपछि हामीले नोट अफ डिसेन्ट लेख्दै छौं’ उनले भने, ‘महासमितिको भावना र मागलाई केन्द्रीय समितिले नजरअन्दाज गरेर महासमितिको अपमान गरेको छ ।’

महासमितिको बैठकको समापनमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले केन्द्रीय सदस्यहरु पनि अरु महाधिवेशन प्रतिनिधि जस्तै तलदेखि नै निर्वाचित भएर आउनुपर्ने विषयमा आफूहरु सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए । तर दुई महिनासम्म केन्द्रीय समितिमा छलफल भए पनि संस्थापन पक्षले बहुमतबाटै विधानलाई पास गराएको छ ।
नयाँ पत्रिकाबाट

Logo