नख्खु बम विस्फोटः जिज्ञासाले गयो गुरुङको ज्यान

नख्खु बम विस्फोटः जिज्ञासाले गयो गुरुङको ज्यान

केन्द्रबिन्दु
0
Shares

नेपाली समाजमा एउटा भनाई छ, ‘कालले कुटकुट्याएपछि कसैको केही लाग्दैन।’ शुक्रबार राती ललितपुरको नख्खुस्थित एनसेलको मुख्य कार्यालयको गेटअगाडि भएको बम विस्फोटमा ज्यान गुमाएका सिंहप्रसाद गुरुङ्को हकमा यस्तै भयो।

गुरुङ् शुक्रबार राति आफ्नै गाडीमा  भैंसेपाटी जाँदै थिए। लमजुङका ४९ वर्षीय गुरुङ  साथीको घरबाट आफ्नो घर जाँदै थिए। एनसेलको कार्यालय नजिक एउटा झोला देखेपछि गाडी रोकेर उनी झोला नजिक पुगे।  प्रत्यक्षदर्शीका अनुसार गुरुङ् नजिक आइनपुग्दै उक्त झोलामा राखिएको वस्तु जोडले विस्फोट भयो।  पछि थाहा भयो, त्यो प्रेसरकुकर बम रहेछ।

विस्फोटमा परि गुरुङ् त्यहि ढले।  गुरुङको अबस्था गम्भीर थियो।  भागाभागका बीच गुरुङ्लाई अस्पताल लैजान समय लाग्यो।  प्रहरी आएर उनलाई शुरुमा जावलाखेलस्थित अल्का अस्पताल लगे। अबस्था गम्भीर देखेर अस्पतालले गुरुङ्लाई बिएण्डबी रेफर गर्यो। प्रहरीले उनलाई  बिएण्डबी लगे।  तर बिएण्डबीले पनि गुरुङको हालत खराब देखेपछि भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा रेफर गर्यो।

यसबीचमा गुरुङ्को अबस्था थप नाजुक भैसकेको थियो।  किनकी उनको खुट्टा र कम्मरका हड्डीहरू भाँचिएको र ठूला नसाहरू फुटेका थिए।  अन्तत: उनको उपचारका क्रममा राति साढे १२ बजे मेडिसिटी अस्पतालमा मृत्यु भयो। अत्यधिक रक्तश्रावका कारण उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

को हुन् गुरुङ ?

गुरुङ्को स्थायी घर लमजुङको खोलासोंथर गाउँपालिका–९,गिलुङमा पर्छ।  उनी भैंसेपाटीस्थित आफ्नै घरमा सपरिवार बस्दै आएका थिए।उनी  अवकाश प्राप्त सिंगापुरे प्रहरी हुन्।

घाइते गुरुङका आफन्तले प्रहरीका कारण गुरुङ्को मृत्यु भएको भन्दै आक्रोश पोखेका छन्।  नजिकैको मेडासिटी अस्पताल नलगी अल्का र बिएण्डबी अस्पताल लागेकोमा उनीहरुको आपत्ती छ।  उनीहरुले आफ्नो परिवारको उचित व्यवस्थापनको माग गरेका छन्।

 को हुन् घाइतेहरु ?

विस्फोटमा परी २ जना घाइते भएका थिए।  घाइते हुनेमा ललितपुर महानगरपालिका-४, बागडोलकी २६ वर्षीया प्रतिक्षा खड्का र काभ्रेको बनेपा घर भई मेडिसिटी अस्पतालमा कार्यरत स्टाफ नर्स २५ वर्षीया उरुषा मानन्धर छन्। घाइते खड्का र मानन्धरको उपचार जारी छ।

खड्का किनमेलका लागि श्रीमानसहित नख्खु पुगेकी थिइन्।  उनले आफु घाइते भएको तब मात्रै थाहा पाइन् जब उनी घर पुगिन्।  घर पुगेर हेर्दा शरीरबाट रगत बगिरहेको देखेपछि उनलाई परिवारले अल्का अस्पताल लागेका थिए।  तर अस्पतालले उनको अबस्था हेरेर मेडिसिटीअस्पताललाई रेफर गरेको थियो।

त्यस्तै मानन्धर मेडिसिटी अस्पतालमा ड्युटी सकेर घर फर्किदै थिइन्।  काभ्रे बनेपाकी उनी नैकापस्थित आफन्त घरमा बसेर काम गर्दै आएकी थिइन्।  उनीहरूको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

अस्पतालमा नेताहरुको भिड 

बम विष्फोटमा परी मृत्यु भएकाको आफन्त र घाइते भएकाहरूलाई भेट्न भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा नेताहरुको भिड लागेको छ।  अहिलेसम्म गृहमन्त्री रामबहादुर थापा बादल, नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ, स्थायी  कमिटी सदस्य पम्फा भुसाललगायत नेता अस्पताल पुगेका हुन्। त्यति आइजीपी सर्वेन्द्र खनाल पनि अस्पताल पुगेका छन्।

यो पनि 

घाइतेहरूलाई भेट्न पुगे गृहमन्त्री र आइजिपी, उपचार खर्च सरकारले व्यहोर्ने

एनसेल आक्रमणको ४ कारण, सुरक्षा गार्डको शंकास्पद गतिविधि

Logo