शुक्रबार देशभरका विभिन्न जिल्लामा रहेको एनसेल टावरसहित मुख्यालयको गेटमा आक्रमण भयो। आक्रमणमा परि एक जनाले ज्यान गुमायो भने २ जना घाइते भए। बिभिन्न जिल्लामा रहेको टावरमा बिस्फोट र आगजनी हुँदा सेवा अबरुद्ध भएको छ।
राजधानीको नख्खुस्थित एनसेल मुख्यालयमा भएको बम बिस्फोटमा घाइते लमजुङका सिंहबहादुर गुरुङको उपचारका क्रममा मृत्यु भयो।विस्फोटमा घाइते भएका ललितपुर महानगरपालिका ४ बागडोलकी २६ वर्षीया प्रतिक्षा खड्का र काभ्रेको बनेपा घर भई अहिले मेडिसिटी अस्पतालमा कार्यरत स्टाफ नर्स २५ वर्षीया उषा मानन्धरको मेडिसिटी अस्पतालमै उपचार भैरहेको छ ।
शुक्रबार राती नै काठमाडौँको कमलपोखरीस्थित लोहोत्से चोकमा रहेको आगन स्वीट्सभित्र बम फेला परेको थियो । पसलको टेबलमाथि खरानी कलरको ब्यागमा रहेको प्रेसर कुकर बम नेपाली सेनाको टोली पुगेर बम डिस्पोज गरेको थियो ।
कहाँ कहाँ भयो आक्रमण ?
शुक्रबार देशभरका बिभिन्न ठाउँमा रहेको एनसेल टावरमा पनि आगजनी गरिएको छ। रुपन्देहीको गैडहवा नगरपालिका–३ सूर्यपुरामा रहेको एनसेल टावरमा आगलागी गरिएको छ। राती १० बजेको समयमा एनसेलको तारमा आगलागी गर्दा झण्डै ४ लाख बराबरको क्षति भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। एनसेल टावरमा सुरक्षा गार्ड समेत नबस्ने गरेकाले आगो लगाएर भागेको प्रहरीको अनुमान छ।
यस्तै कपिलवस्तु पनि टावरमा आगलागी भएको छ। नुवाकोट दरवार क्षेत्रनजिकै रहेको एनसेलको टावरमा पनि आगजनी भएको छ।विदुर नगरपालिका–२ अशोकवाटिका डाँडामा रहेको एनसेलको टावरमा शुक्रबार राति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
अछामको ढकारी गाउँपालिका–३ मा रहेको एनसेल टावरमा शुक्रबार राति आगजनी गरिएकाे छ। आगजनीबाट एनसेलकाे माेबाइल सेवा अवरुद्ध भएकाे छ। शुक्रबार मध्यराति गरिएकाे आगजनीबाट साढे दुई मिटर जति तार जलेकाे जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका-७ अम्ररामा रहेको एनसेलको टावरमा शुक्रबार राति बिष्फोट भएको छ। जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डिएसपी लिलाराज लामीछानेका अनुसार टावरमा आगलागी भएको बताए। घटनास्थल वरपर पेट्रोल भरिएको सिसा भेटिएको छ। विष्फोटबाट टावर पूर्णरुपमा क्षतिग्रस्त भएको छ।
शुक्रबार राति नौ बजेतिरे टावरमा विष्फोट भएर आगलागी भएपछि टावर जलेर ध्वस्त भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ।
घटनास्थलमा कुनै पनि पर्चा पम्प्लेट नभेटिएकाले घटना कसले गराएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। विष्फोटबाट कुनै पनि मानविय क्षति भने भएको छैन। टावर जलेपछि आसपासका क्षेत्रमा एनसेल प्रयोगकर्ता सेवाबाट बञ्चित भएका छन्।
त्यस्तै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीमा रहेकेा एनसेलको टावरमा आगजनी गरिएको छ। शुक्रबार राति गरिएको आगजनीबाट टावरका तार र मिटरबक्स जलेर नष्ट भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी कृष्ण ओझाले आगजनी गरिएको क्षेत्रमा ‘जय जनता’ लेखिएको पर्चा पनि फेला परेकाे छ।
त्यस्तै काभ्रे जिल्ला कोसीपारी भुम्लु गाँउपालिका काभ्रेपलान्चोक सल्ले भुम्लु डाडामा रहेको टावरमा बम बिस्फोट गरि आगजनी गरेको छ ।
आक्रमणको ४ कारण
एनसेलमाथि यस अघि नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आक्रमण गर्दै आएकाले यसपटक पनि सोही पार्टीको हात हुन् सक्ने अड्कन गरिएको छ। तर घटनाको अहिले सम्म कसैले जिम्मेवारी लिएको छैन।
तर, घटनास्थलमा ‘जय जनता’ नामको पर्चाहरु फेला परेका छन् । पर्चामा एनसेल माथि कारबाही गर्नुको कारणहरू उल्लेख छन् । पर्चामा उल्लेख भए अनुसार एनसेलले ७२ अर्ब कर नतिरेको, सर्वोच्च अदालतको फैसला समेल उल्लंघन गरेको, नाफा रकमको केही अंशसम्म पनि नेपालमा लगानी नगरी पुरै रकम विदेश निर्यात गरेको र राष्ट्रिय स्वाधिनता र सार्वभौम सत्तामाथि खलल पुर्याउने गरी दलाल पूँजीवादलाई संस्थागत गरेको उल्लेख छ।

यसका साथै सांकेतिक कारबाहीको अवज्ञा गरी यथाशीघ्र कर चुक्ता गर्ने काम नगरे कडा कारबाही गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ। पर्चामा ‘इन्कलाव जिन्दावाद, वैज्ञानिक समाजवाद–जिन्दावाद’ लेखिएको छ।
एनसेलका कर्मचारीसहित ६ जना पक्राउ
प्रहरीले एनसेलको मुख्यालयमा भएको बम विष्फोटमा संलग्न भएको आशंकामा एनसेलका कर्मचारीसहित ६ जनालाई नियन्त्रणमा लिएको छ। सिसीटिभि फुटेजमा देखिएको गतिविधिका आधारमा उनीहरु पक्राउ गरी अनुसन्धान अघि बढाइएकाे छ ।
ललितपुर प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकले घटनाको सूक्ष्म ढंगले अनुसन्धान सुरु गरिएको जानकारी दिए। सिसिटिभी फुटेजमा एनसेलका कर्मचारीको गतिविधी संकास्पद देखिएको छ।
सिसिटिभी फुटेजमा मोटरसाईकलमा तीनजना माक्स लगाएका व्यक्ति कार्यालयमा प्रवेश गरेको देखिन्छ। त्यसको केही समयपछि गार्डले यूत्का झोला बाहिर ल्याएर राखेको देखिन्छ। केही समयपछि बस्तु वस्तु बिस्फोट हुन्छ।





























प्रतिक्रिया