दुई सय ६ नेपाली मलेसियाली जेलमा

दुई सय ६ नेपाली मलेसियाली जेलमा

केन्द्रबिन्दु
0
Shares

क्वालालम्पुर

रोजगारीका लागि मलेसिया आएका केही नेपाली अवैध बसाइ र व्यवहारजन्य समस्याका कारण जेल पुग्ने गरेको पाइएको छ । क्वालालम्पुरस्थित नेपाली दूतावासले विभिन्न जेल पुगी संकलन गरेको पछिल्लो तथ्यांक अनुसार मलेसियाका जेलमा दुई सय ६ नेपाली छन् । ती मध्ये धेरैजसो अवैध रूपमा बसेका र व्यवहारजन्य समस्याका कारण जेल पुगेका हुन् ।

दूतावासका प्रथम सचिव प्रेमराज गौतमका अनुसार मलेसिया आएपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बसाइ, व्यवहारजन्य समस्या लगायत कारण नेपाली जेल पर्ने गरेका छन् । कतिपय चाहिँ चोरी, लागुऔषध कारोबार, अपहरण, जुवातास जस्ता गम्भीर मुद्दामा जेल पुगेका छन् । ‘जुन कम्पनीमा काम गर्न आएको हो त्यसमा चित्त नबुझेपछि गैरकानुनी रूपले अर्को कम्पनीमा काम गरेर बस्ने नेपालीको संख्या धेरै छ’, गौतमले भने, ‘बाहिर आउजाउ गर्दा बेलाबेलामा यहाँको अध्यागमन प्रहरीको छड्के जाँचमा परेपछि त्यसरी अवैध रूपले काम गर्ने र बस्ने समातिन्छन् ।’

अवैध रूपले बसेकालाई प्रहरीले क्वालालम्पुरको पुत्राजयस्थित अध्यागमन विभाग हुँदै अदालतमा पेस गर्छ । यस्तै प्रहरी र रोजगारदाता कम्पनी सञ्चालकसँगको दुव्र्यवहारका कारण समेत कतिपय नेपाली जेल परेका छन् । कम्पनी सञ्चालकसँग झगडा गरेर, भाषा नबुझ्दा स्थानीयसँग झगडा गर्ने र प्रहरीलाई पनि नराम्रो व्यवहार गरेका कारण केही नेपालीले मुद्दा खेपिरहेका छन् ।

दूतावासका अनुसार जेलमा रहेका मध्ये ९८ नेपाली भिसाबिनै यहाँ बसेका हुन् । दूतावासका प्रथम सचिव गौतमका अनुसार जेल परेका मध्ये ८२ जना माथि मदिरा सेवन गरी होहल्ला गरेको, जुवा खेलेको, चोरी गरेको र गाँजा सेवन गरेको अभियोग छ । यस्तै १९ नेपालीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण अभियोगमा जेल सजाय भोगिरहेका छन् ।

भ्रष्टाचारजन्य मुद्दामा २, सवारी मुद्दामा १, अपहरण मुद्दामा २, बालबालिका सम्बन्धी कानुन अन्तर्गत २ जना र ३ जना अन्य मुद्दामा जेलमा छन् । ‘यहाँको कानुन असाध्यै कडा छ’, गौतम भन्छन्, ‘सडक, पार्क वा सार्वजनिक स्थानमा कसैको बच्चालाई कति राम्रो भनेर आँखा लगाउने, खेलाउन खोज्ने, प्रशंसा गरेका कारण पनि केही जेल पुगेका हुन् ।’ मलेसियामा बालबालिकालाई अपरिचितले यस्तो व्यवहार गर्नुलाई अशोभनीय मानिन्छ ।
नागरिकबाट

Logo