काठमाडौं । खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरको सरुवा गरिएको छ । मेलम्ची खानेपानी आयोजनालाई लिएर खानेपानीमन्त्री विना मगरसँग विवाद भएपछि उनको सरुवा गरिएको हो । उनलाई जगेडामा राखिएको छ ।
सरुवापछि सचिव ठाकुरले खानेपानी मन्त्रीमाथि गम्भीर आरोप लगाएका छन् । उनले गैरनकानुनी रुपमा इटालियन ठेकेदार कम्पनी सीएमसीलाई नै फिर्ता ल्याउन दबाव दिएको तर आफुले नमानेपछि आफ्नो सरुवा गरिएको बताए ।
सीएमसीलाई थप ३ अर्ब दिएर धरौटी समेत फिर्ता गरेर काममा ल्याउन मन्त्रीले दबाव दिएको सचिव ठाकुरको आरोप छ । उक्त दवावपछि सचिव ठाकुरले कानुन र देशहित विपरित यस्तो निर्णय हुन सक्दैन भनेर अडान राखेपछि सरुवा गरिएको बताए ।
सचिव ठाकुरका अनुसार मन्त्रीले दबाव दिएपछि उनले सीएमसीलाई फिर्ता बोलाउने र धरौटी पनि फिर्ता गर्न लिखित निर्देशन मागेका थिए । तर, मन्त्रीले लिखित निर्देशन पनि नदिएको र आफूमाथि दबाव दिन पनि नछाडेको उनको आरोप छ ।
धरौटी फिर्ता गरेर ३ अर्ब थपिदिने हो भने राज्यलाई ७ अर्ब नोक्सनी हुने उनको भनाई छ । मन्त्री विना मगरमाथि खनिएका सचिव ठाकुरले मेलम्ची खानेपानी आयोजनाको सञ्चालक समितिलाई ‘पंगु’ बनाएको आरोप पनि लगाए ।
समितिले आयोजनाको बाँकी कामहरु टुक्रयाएर ठेक्का लगाउने वा विशेष निर्णय गरेर एउटै स्वदेशी कम्पनीलाई ठेक्का दिन प्रस्ताव ल्याएको थियो । यसरी मेलम्चीको बाँकी काम साढे ३ महिनामै सक्ने उनको दाबी छ ।
सुरुमा सीएमसीको धरौटी रकम बैंकबाट झिक्न पनि रोरोकेको तथा झिकेको रकम खातामा राख्न पनि असहयोग गरेको उनको भनाई छ । मन्त्रीमाथि आक्रोशित कनेका सचिव ठाकुरले भने, ‘मन्त्रीज्यू, मुलुक डुबाउने काम गर्न खोजिरहनु भएको छ, यसमा मैले सहयोग गर्न सकिनँ ।’































प्रतिक्रिया