काठमाडौँ
त्रिभुवन विश्वविद्यालयमा यसवर्ष स्ववियु चुनाव हुने सम्भावना टर्दै गएको छ । चुनाव फागुनमा गर्ने शैक्षिक क्यालेन्डर छ । तर त्रिविले अहिलेसम्म मिति समेत घोषणा गर्न सकेको छैन । दलका नेता र विद्यार्थी संगठनसमेत स्ववियु चुनावका लागि सकारात्मक देखिएका छैनन् । प्रमुख प्रतिपक्षी कांग्रेस स्ववियु चुनावको पक्षमा छैन । ठूला विद्यार्थी संगठनले औपचारिकताका लागि मात्र स्ववियु चुनाव हुनुपर्ने बताउँदै आएका छन् ।
त्रिविले ६ महिनादेखि स्ववियु चुनावको तयारी गरेको थियो । त्यसका लागि त्रिविले शिक्षाध्यक्षको अध्यक्षतामा निर्वाचन समिति बनाउनुपर्छ । विद्यार्थी कल्याण निर्देशनालयबाट शिक्षाध्यक्षसहित हुँदै त्रिविका उपकुलपति प्रा.डा. तीर्थ खनियाँसम्म निर्वाचन समितिको नाम सिफारिस भएको छ । तर झन्डै दुई हप्ताअघि सिफारिस पुगे पनि खनियाँले समितिको निर्णय गरेका छैनन् । समिति नबन्दा निर्वाचनको घोषणा भएको छैन । स्ववियुनियममा शिक्षाध्यक्षको अध्यक्षतामा निर्वाचन कमिटी बन्ने व्यवस्था छ ।
शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीले निर्वाचन समिति नबनेको र विभिन्न पक्षबाट भएका गतिविधिले स्ववियु चुनावको सम्भावना टर्दै गएको बताइन् । त्रिपाठीले भनिन्, ‘फागुन १४ मा स्ववियु चुनाव गर्ने गरी शैक्षिक क्यालेन्डर बनायौँ, अहिलेसम्म निर्वाचन समितिसमेत घोषणा भएको छैन । यो महिनामा हुन नसके परीक्षा लगायत कारणले स्ववियु चुनाव गर्न सक्ने अवस्था छैन ।’
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया