७ महिनामा २२ प्रतिशतमात्रै पुँजीगत खर्च

७ महिनामा २२ प्रतिशतमात्रै पुँजीगत खर्च

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सरकारले चालु आर्थिक वर्षको ७ महिनामा कुल पुँजीगत खर्चको २२ प्रतिशत मात्र रकम खर्च गरेको छ । चालु आवको लागि सरकारले तीन खर्ब १३ अर्ब रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेको थियो । माघ मसान्तसम्म जम्मा ७० अर्ब ६६ करोड रुपैयाँ मात्रै खर्च भएको छ ।

सरकारले जतिसुकै खर्च गर्ने योजना बनाए पनि विनियोजित पुँजीगत खर्च भने बढ्न सकेको छैन । दुईतिहाईका साथ बनेको सरकारले विकासमा गति दिने बताउँदै आए पनि बजेट कार्यान्वयनमा आशातीत सफलता हासिल गर्न सकेको छैन । पछिल्लो समय प्रधानमन्त्री केपी ओलीले विकासे मन्त्रालयका मन्त्री र सचिवसँग हरेक महिना छलफल तथा परियोजनामा निगरानी बढाएका छन् ।

पुँजीगत खर्च नहुने रोगलाई न्यूनीकरण गर्न नयाँ आर्थिक वर्ष लाग्नु डेढ महिना अघि नै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बोलपत्र तयारी, ठेक्का सम्झौता जस्ता आयोजना पूर्वतयारीमा बढी समय खर्च हुने गर्छ । वर्षायाम र चाडपर्वका कारणसमेत पुँजीगत खर्च बढ्न नसकेको हो ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार साउनदेखि माघसम्मको ७ महिनामा कुल चार खर्ब ५३ अर्ब खर्च भएको छ । यसमध्ये तीन खर्ब ५१ अर्ब रुपैयाँ चालु खर्च हो ।
नागरिकबाट

Logo